पाँचवटा छोटी भन्सार अझै पुनः स्थापना हुन सकेन

इनेप्लिज २०७२ भदौ १७ गते ४:२६ मा प्रकाशित

इलाम, १७ भदौ । सशस्त्र द्वन्द्वका समयमा विस्थापित भएका इलाम र पाँचथरका पाँचवटा छोटी भन्सार कार्यालय अझै पुनः स्थापना हुन सकेका छैनन् ।

द्वन्द्वका समयमा असुरक्षाको कारण देखाउँदै विस्थापित बनेका छोटी भन्सार कार्यालय पुनः स्थापित नहुँदा राजस्व सङ्कलन प्रभावित भएको छ । विस्थापित ती कार्यालय पुनः स्थापना नहुँदा खुला सिमानाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रमा तस्करी भइरहेको छ ।

पाँचथरको मेमेङ, च्याङथापु, इलामको छिरुवा, हिले र बन्दुके छोटी भन्सार कार्यालय अहिलेसम्म पुनः स्थापना हुन नसकेका हुन् । विस्थापित भएका छोटी भन्सार कार्यालयमध्ये अहिले छब्बिसे, मानेभञ्ज्याङ र तुम्लिङ पुनः स्थापित भएको पशुपतिनगर भन्सार कार्यालयका भन्सार अधिकृत प्रकाश पोखरेलले बताउनुभयो । छब्बिसे यसै चालु आवदेखि सञ्चालनमा ल्याइएको हो ।

स्रोतसाधन, कर्मचारी र बजेट अभावका कारण विस्थापित छोटी भन्सार कार्यालय पुनः स्थापित हुन नसकेको भन्सार अधिकृत पोखरेलको भनाइ छ । पुनः स्थापित भएका तीनवटा भन्सार कार्यालयमा समेत कर्मचारी अभावमा दुई÷दुईजना खटाइएको छ । कतिपय छोटी भन्सार कार्यालय मुख्य पशुपतिनगर भन्सार कार्यालय नजिकै भएकाले समेत पुनः स्थापित नभएको बताइएको छ ।

पशुपतिनगर भन्सार कार्यालयका अनुसार दुईवटा छोटी भन्सार कार्यालय र मुख्य भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा रु एक करोड एक लाख मात्र राजस्व सङ्कलन भएको थियो । सीमा क्षेत्रमा भएका दर्जनौँ अवैध नाकाबाट व्यापारीले लुकाइछिपाई सामान भित्र्याउने गरेकाले राजस्व सङ्कलन अपेक्षाकृत हुन नसकेको भन्सार अधिकृत पोखरेल बताउनुहुन्छ ।

“व्यापारिक सामान मात्र भन्सार तिरेर ल्याउनुपर्ने र अन्य सामान चाहिँ भन्सार नतिर्दासमेत हुन्छ भन्ने सोचका कारणसमेत राजस्व असुली कम हुन गएको हो”–पोखरेलले भन्नुभयो–“तर सीमा नाकामा हुने अवैध चोरी निकासी नियन्त्रणका लागि प्रहरीसँगको सहकार्य बढाएर नियन्त्रण गर्ने प्रयासमा छौँ ।”

प्रतिक्रिया