राउटेको नारायणीमा जलयात्रा

इनेप्लिज २०७२ भदौ १६ गते १४:४९ मा प्रकाशित

NNरत्ननगर (चितवन), १६ भदौ । लोपोन्मुख जाति राउटेका तीन मुखियाले आज नारायणी नदीमा पहिलो पटक जलयात्रा गरेका छन् ।

पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहेको नारायणी किनारबाट उनीहरुले जलयात्रा गरेका हुन् । चितवनको नारायणी नदीमा जलयात्रा पर्यटकीय दृष्टिले पनि राम्रो छ ।

करिब एक घण्टा उनीहरु नारायणीमा र्‍याफ्टिङमा रमाएका थिए । यसअघि फेवा तालमा डुङ्गामा चढे पनि नदीमै जलयात्रा गरेको उनीहरुको यो पहिलो अनुभव हो । नदीको छाल आएका बेला केही डराएजस्तो देखिएपनि उनीहरुले रमाइलो महसुस भएको बताएका छन् ।

राउटेका मुखिया सूर्यनारायण शाहीले पानीमाथि हिँड्दा रमाइलो लागेको प्रतिक्रिया दिनुभयो । हिजोदेखि राउटे मुखिया सूर्यनारायण शाही, वीरवहादुर शाही र लोकेन्द्र शाही चितवनमा छन् ।

उनीहरुले गएराति नारायणगढको एक दोहोरी साँझको उद्घाटनसमेत गरेका थिए । बाजागाजासहित स्वागत पाएर गएराति दोहोरीमा रमाएका राउटेले आज जलयात्रा गरेका हुन् । उनीहरुका अनुसार अहिले राउटेका ४० घरमा १३९ सदस्य छन् ।

प्रतिक्रिया