कृषक पाउलोनियाको व्यावसायिक खेतीतर्फ आकर्षित

इनेप्लिज २०७२ भदौ १६ गते १४:४३ मा प्रकाशित

Rss_Images_1441180189917_KM-Khotang-Paouloniyaखोटाङ, १६ भदौ । जिल्लाका कृषक पाउलोनियाको व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् ।

सबैभन्दा छिटो बढ्ने तथा एउटै बिरुवाबाट १० पटकसम्म रुख बनाउन सकिने भएकाले यसको व्यावसायिक खेतीतर्फ कृषक आकर्षित भएका हुन् ।

दश वर्षमै काठको लागि उपयुक्त रुख हुने गरी धेरै छिटो बढ्ने भएकाले जिल्लाका कृषक यसको व्यावसायिकतातर्फ लागि परेको सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष राजेन्द्र राईले बताउनुभयो ।

“एक पटक रोपेको बिरुवाबाट १० पटकसम्म रुख काट्न सकिन्छ ।” उहाँले भन्नुभयो, “यसले गर्दा जिल्लाका कृषकले यसको व्यावसायिक खेती सुरु गरेका हुन् ।”

विशेषगरी जिल्लाका युवा कृषकले यसप्रति बढी चासो देखाएको अध्यक्ष राईको भनाइ छ । पाउलोनियाको लागि जिल्लाको वातावरण अनुकूल भएकाले आफूले व्यावसायिक रुपमा खेती सुरु गरेको शुभ कृषि फार्मका सञ्चालक शुभचन्द्र राईले बताउनुभयो ।

पाउलोनियाको काठ घरायसी फर्निचरलगायत विभिन्न सामग्री निर्माणमा प्रयोग हुने गर्दछ । विभिन्न सञ्चारमाध्यमबाट जानकारी पाएपछि दुई वर्षअघि यसको व्यावसायिकतामा जोड दिन नर्सरी राखेको राईले बताउनुभयो ।

वैशाख–जेठदेखि असोज महिनासम्ममा रोप्न सकिने पाउलोनियाको बिरुवा अहिले जिल्लामा प्रतिगोटा रु १५० देखि रु २०० मा बिक्री हुने गरेको छ । पाउलोनिया खेती नेपालमा चार÷पाँच वर्ष अगाडिदेखि मात्र सुरु गरेर परीक्षणकै अवस्थामा रहे पनि जिल्लामा व्यावसायिकखेती सुरु भएको जनाइएको छ ।

पाउलोनियाको पातलाई जडीबुटीको रुपमासमेत उपयोग गर्न सकिन्छ । खेतबारी बाझिँदै गएको अवस्थामा पाउलोनियाबाट राम्रो आम्दानी लिन सकिने कृषकको अपेक्षा छ । यो वनस्पति लेक तथा बेँसीमा लगाउने छुट्टाछुट्टै प्रजातिको हुने वन उपभोक्ता महासङ्घले जनाएको छ ।

प्रतिक्रिया