अजिङ्गर सङ्कटमा

इनेप्लिज २०७२ भदौ १६ गते १४:३८ मा प्रकाशित

Ajinggarगुलरिया (बर्दिया), १६ भदौ । बर्दियामा अजिङ्गरको संरक्षण हुन सकेको छैन ।

‘अजिङ्गरको आहारा दैवले पुर्‍याउँछ’ भन्ने उखान अधिकांश नेपालीको जिब्रोमा झुन्डिएको पाइन्छ । तर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ संरक्षित वन्यजन्तु घस्रने वन्यजन्तुको सूचीमा सर्प प्रजातिका अजिङ्गर विविध कारणले यहाँ सङ्कटमा परेका छन् ।

बासस्थान विनाश, वन डढेलो, कृषि क्षेत्रमा प्रयोग गरिने विषादीलगायत कारणले गर्दा यिनीहरुको अवस्था थप सङ्कटमा परेको छ । बढ्दो जनसङ्ख्या, वन फँडानी, सीमसार क्षेत्रको अतिक्रमण र अत्यधिक प्राकृतिक दोहनले अजिङ्गरको आहारामात्र होइन बासस्थान नै गुम्ने खतरा बढेको कृष्णासार संरक्षण क्षेत्र कार्यालयका प्रमुख नारायण रुपाखेती बताउनुहुन्छ ।

प्राकृतिक स्रोत साधनमाथि अत्यधिक मानवीय दोहन र बासस्थान विनाशका कारण अजिङ्गर सङकटपूर्ण अवस्थामा छन् । सरकारले हात्ती, बाघ, गँैडालाई जस्तै अजिङ्गरका प्रजातिको संरक्षणमा कसैको ध्यान जान नसकेको रुपाखेतीले बताउनुभयो ।

वन डढेलोलगायत कृषि प्रणालीको प्रयोग गरिने विषादीले गर्दा अजिङ्गर संरक्षणमा थप चुनौती थपिदिएको उहाँको भनाइ छ । अजिङ्गरको पहिचान र सङ्ख्या यकिन गर्न सरकारले ध्यान दिएको छैन । यस्ता महत्वपूर्ण जैविक सम्पत्तिको संरक्षणका निम्ति नीति ल्याउनुपर्ने माग रुपाखेतीको छ ।

सर्प प्रजातिमा आकर्षक मानिने अजिङ्गर नेपालमा इन्डियन रकर र वर्मिथ गरी दुई किसिमका छन् । यहाँ तिनको उपयुक्त बासस्थान छ ।

चिसो रगतयुक्त प्रजातिमध्येका अजिङ्गर शान्त प्रकृतिका मानिन्छन् । सिकारका लागि बाहिर निस्कने र सिकारपछि आराम गर्ने प्राकृतिक गुण तिनमा पाइन्छ ।

प्रतिक्रिया