पैँतालीस दिनदेखि १३ गाविसमा सडक अवरुद्ध

इनेप्लिज २०७२ भदौ १६ गते ४:३५ मा प्रकाशित

मेलम्ची, १६ भदौ । गत साउनको पहिलो सातादेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको क्षेत्र नं ३ का उत्तरी भेगका १३ गाविसको सडक अवरुद्ध भएको छ ।

जिल्लाको थाङपालधाप, वासखर्क, बरुवा, गुन्सा, भोताङलगायत गाविसमा ४५ दिनदेखि यातायातको कुनै सवारी साधन चल्न नसकेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक चन्द्र थापाले बताउनुभयो ।

यातायात सञ्चालन हुन नसक्दा जिल्लाको उत्तरी भेगका स्थानीयवासी निकै सास्ती खेप्नु परेको छ । दैनिक उपभोग गर्ने खाद्यान्न, दाल, चामल, चिनी लगायतका सामान लिनका लागि १० घन्टाको बाटो हिँडेर मेलम्ची बजारमा धाउनुपर्ने बाध्यता रहेको जानकारी थाङपालकोट गाविसका सहायक सचिव कुमार बस्नेतले दिनुभयो ।

उहाँका अनुसार १० घन्टाको बाटो हिँडेर जाँदा फर्केर आउने नआउने केही भर छैन । विभिन्न ठाउँमा पहिरो गइरहेको हुन्छ । कुन बेला हिँड्दाहिँड्दै पहिरोले माथिबाट थिच्ने हो, ज्यानको माया मारेर जोखिम मोलेर खाद्यान्न किनेर डरै डरमा घर पुग्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

पटकपटकको अविरल वर्षाका कारण मेलम्चीबाट जिल्लाको सदरमुकाम चौतारा जोड्ने मनमोहन राजमार्गअन्तर्गत सहरे भिरमा भीषण पहिरो गएकाले यातायात सञ्चालन हुन सकेको छैन । सडक अवरुद्ध भएसँगै जिल्लाको मेलम्ची बजार क्षेत्रमा मूल्यवृद्धिको मार खेप्नु परेको स्थानीयवासीको गुनासो रहेको छ । स्थानीय प्रशासनले यस सम्बन्धमा चासो देखाउनुपर्ने मेलम्ची नगरपालिका–१२ का टोमशंखर दुलालले बताउनुभयो । मेलम्ची बजार क्षेत्रमा नै माथिबाट पटकपटक ठूल्ठूला ढुङ्गा खस्ने गरिएको र बजार क्षेत्रका स्थानीय बासिन्दा दैनिक त्रसित भई रात कटाउन बाध्य भएको स्थानीयवासी चित्रकुमार श्रेष्ठ बताउनुहुन्छ ।

प्रतिक्रिया