प्यूठानको पहिलो पुस्तकालय सङ्कटमा

इनेप्लिज २०७२ भदौ १६ गते ३:५१ मा प्रकाशित

प्यूठान, १६ भदौ । जिल्लाको पहिलो सार्वजनिक पुस्तकालय सङ्कटमा परेको छ । विसं २०३२ मा जिल्लाकै पहिलो पुस्तकालयका रुपमा स्थापना भएको भानु पुस्तकालय सङ्कटमा परेको हो ।

प्यूठान नगरपालिका–१७ जुम्रीमा रहेको भानु पुस्तकालय सम्बन्धित क्षेत्रको बेवास्ता र संरक्षणको अभावमा सङ्कटमा पर्दै गएको साहित्यकार प्यूठानका अध्यक्ष गेहेराज थापाले बताउनुभयो ।

“पुस्तकालयमा ३२ साल तिरका पुस्तक पनि छन्”–अध्यक्ष थापाले भन्नुभयो–“साहित्य क्षेत्रको विकासमा समेत तत्कालीन समयमा भानु पुस्तकालयले धेरै सहयोग गरेको थियो । तर अहिले कसैको ध्यान नजाँदा सङ्कटमा परेको छ ।” पुस्तकालयमा नियमित रुपमा पाठकले अध्ययन गर्ने, पुस्तकालयको संरक्षण गर्ने निकाय नै नहुनु र जिल्लास्थित सरोकारवालाले पुस्तकालय सञ्चालनका ध्यान नदिने गर्दा पुस्तकालय प्रभावकारी नभएको परिषद्ले जनाएको छ । तत्कालीन समयमा साहित्य क्षेत्रको विकासमा सहयोग पुगोस् भन्दै आदिकवि भानुभक्त आचार्यको नाममा पुस्तकालय स्थापना गरिएको अध्यक्ष थापाले बताउनुभयो ।
जिल्लामा तीन सय ५० भन्दा धेरै विद्यालय रहेकामा दुई सय १५ वटा विद्यालय पुस्तकालय स्थापना भइसकेको छ तर ती विद्यालयका पुस्तकालयमा विद्यार्थी र शिक्षकले अध्ययन गर्ने गरे पनि पाठक नियमित अध्ययनका लागि खासै नजाने गरेको उहाँले बताउनुभयो । जिल्लामा पुस्तकालयको क्षेत्रमा काम गर्ने रुम टु रिड परियोजना सञ्चालन भए पछि विद्यालयमा पुस्तकालय स्थापनाको दरमा वृद्धि भएको शिक्षा कार्यालयले जनाएको छ । रुम टु रिडले जिल्ला शिक्षा कार्यालयको समन्वयमा दुई सय आठ विद्यालयमा र जिल्ला शिक्षा कार्यालयले सातवटा विद्यालयमा पुस्तकालय स्थापना गरेको शिक्षा अधिकारी भट्टराईले बताउनुभयो । जिल्लाका अझै एक सय ५० वटा विद्यालयमा पुस्तकालयविहीन रहेका छन् ।

जिल्ला पुस्तकालय क्षेत्रमा केही विकास भए पनि पाठक र पुस्तकहोम विकास नभएको पुस्तक सहजकर्ता प्रकाश सुवेदीले बताउनुभयो । जिल्लामा विद्यालय पुस्तकालयको विकास धेरै भए पनि सार्वजनिक र जिल्लास्तरीय पुस्तक तथा सूचना भएको पुस्तकालय आवश्यक रहेको सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया