काँकडभिट्टामा नवयात्रा पुनः स्थापना केन्द्र स्थापना

इनेप्लिज २०७२ भदौ १६ गते ३:२७ मा प्रकाशित

काँकडभिट्टा (झापा), १६ भदौ । लागुपदार्थ प्रयोगकर्तालाई पुनर्जीवन दिने उद्देश्यले झापाको काँकडभिट्टामा नवयात्रा नामक पुनः स्थापना केन्द्रको स्थापना गरिएको छ ।

विगतमा लागुऔषध दुव्र्यसनमा फसेर पुनर्जीवन पाएका मेचीनगर–१० का युवाले सो केन्द्रको स्थापना गरेको संस्थाका अध्यक्ष अर्जुन राईले बताउनुभयो ।

भारतीय बजारसँग प्रत्यक्ष सीमा जोडिएको काँकडभिट्टा र आसपासका क्षेत्रमा लागुऔषधका दुव्र्यसनी बढ्न थालेका छन् । लागुऔषध प्रयोगकर्ता भारतीय बजार पुगेर नेपालमा प्रतिबन्धित ब्राउनसुगर, नाइट्रोजन, टिटिएसिक, एसपी, फेन्सिलर, कोरेक्स, डेन ड्राइड, गाँजालगायतका लागुऔषध लुकिछिपी खरिद गरी सेवन गर्दै आएका छन् ।

विशेषगरी १४÷ १५ वर्षका किशोरदेखि २५ वर्षमाथिका युवा कुलतमा फस्ने गरेको पूर्व लागूऔषध प्रयोगकर्ता तथा संस्थाका अध्यक्ष राईको भनाइ छ । उहाँका अनुसार तिनीहरुलाई पुनर्जीवन दिने र समाजमा स्थापित गराउने उद्देश्यले भदौको पहिलो साता मेचीनगर, बाहुनडाँगी र विर्तामोडका पूर्वलागुऔषधकर्ता मिलेर केन्द्रको स्थापना गरिएको हो ।

केन्द्रले ४० जनासम्म अटाउन सक्ने घर काँकडभिट्टामा भाडामा लिएर सेवनकर्तालाई परामर्श तथा उपचार सेवासमेत सुरु गरेको अध्यक्ष राईले बताउनुभयो । झापामा दुव्र्यसनीको सङ्ख्यामा भएको वृद्धिसँगै सुधार केन्द्र खुल्ने क्रम पनि बढेको छ । झापामा योसहित नौवटा सुधार केन्द्र क्रियाशील छन् ।

प्रतिक्रिया