असी प्रतिशत धार्मिकस्थल सुरक्षित

इनेप्लिज २०७२ भदौ १४ गते १४:३१ मा प्रकाशित

काठमाडौँ, १४ भदौ । नेपालमा भूकम्पबाट धनजनको ठूलो क्षति भए पनि हाम्रा पूर्वजले निर्माण गरेर गएका ८० प्रतिशत धार्मिकस्थल सुरक्षित रहेको बताइएको छ ।

‘टुरिज्म हेडलाइन डट कम’ नामक अनलाइन स्थापनाको तेस्रो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा पर्यटन व्यवसायीले सो जानकारी दिएका हुन् ।

उनीहरुले नेपालमा बेरोजगार भएका कारण दैनिक एक हजार तीन सय ८५ जना युवाले विदेशमा रोजगारीको खोजीका लागि जाने गरेको जानकारी पनि साृ अवसरमा दिनुभयो ।

पर्यटन क्षेत्रमा लामो समयसम्म सेवा गर्ने विभिन्न ११ पर्यटन व्यवसायीलाई सभासद् गगन थापाले नेपाल पर्यटन पुरस्कार–२०१५ बाट सम्मान गर्दै भदौ मसान्तसम्ममा नेपालको संविधान जारी हुने बताउनुभयो ।

उहाँले तराईका थरुहत तथा मधेसमा सङ्घर्ष चर्किरहेकाले उनीहरुको मागलाई पनि समेटेर संविधान निर्माण गरेमा मात्र त्यो संविधान टिकाउ र सर्वस्वीकार्य बन्ने धारणा व्यक्त गर्नुभयो ।

नेकपा (एमाले)का वरिष्ठ नेता एवम् वैकल्पिक केन्द्रीय सदस्य माधव ढुङ्गेलले हरेक नागरिकको हकहित तथा अधिकारको सुरक्षित गर्न सकेमा मात्र समृद्ध नेपाल बनाउन सबै एकै ठाउँमा उभिन सक्ने वातावरण बन्ने उल्लेख गर्नुभयो ।

राष्ट्रिय पर्यटन व्यवसायी सङ्घका अध्यक्ष दीपक महत्त, टानका अध्यक्ष रमेश धमला, नाताका अध्यक्ष डिवी लिम्बू, पर्यटन व्यवसायी गणेश सिंखडा, छवि फुँयाल, राम सापकोटालगायतले भूकम्पबाट दुई लाख मानिसलाई बेरोजगार बनाएको बताउनुभयो ।

प्रतिक्रिया