पहिरामा परी दुई बेपत्ता

इनेप्लिज २०७२ भदौ १४ गते १३:३२ मा प्रकाशित

ओखलढुङ्गा, १४ भदौ । आइतबार रातिको अविरल वर्षापछि आएको पहिरामा पुरिएर ओखलढुङ्गा, माम्खा गाविस–८ खानी गाउँमा एकै घरका दुई जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा ६८ वर्षीय अविराज दाहाल र उनकी श्रीमती ६७ वर्षीया हर्कमाया छन् । घरमाथिबाट आएको पहिराले घरसमेत बगाउँदा उहाँहरु बेपत्ता भएको प्रहरीले जनाएको छ ।

पहिरासँगै माम्खा र रुम्जाटारबीचको ठोट्ने खोलामा आएको बाढीले रुम्जाटार–माम्खा सडक जोड्ने पक्की पुल तथा खोला किनारमा रहेका दुई विद्युत् गृहसमेत बगेका छन् । माम्खा–८ स्थित ३२ किलोवाट र वडा नं ९ मा रहेको १५ किलोवाटको लघुलजविद्युत् आयोजनाको सम्पूर्ण उपकरणसहित विद्युत् गृहसमेत बगाएको हो ।

बेपत्ताको खोजी तथा उद्धारका लागि जिल्लाबाट सुरक्षाकर्मी र रेडक्रसकर्मी घटनास्थलमा पुगेर खोजी गरे पनि अहिलेसम्म फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक वैजनाथ यादवले बताउनुभयो । बाढीले ठोट्ने खोला किनार आसपासका सयौँ हेक्टर धान रोपिएको खेतसमेत बगाएको छ ।

प्रतिक्रिया