प्लास्टिक उद्योगमा अनुगमन

इनेप्लिज २०७२ भदौ १४ गते १३:१५ मा प्रकाशित

काठमाडौँ, १४ भदौ । काठमाडौँ उपत्यकामा ४० माइक्रोनभन्दा कमको प्लास्टिक झोला निषेध गरेको वातावरण विभागले त्यसको उद्योगमा अनुगमन सुरु गरेको छ ।

बालाजु र पाटन औद्यागिक क्षेत्रका आठ उद्योगमा पहिलो चरणमा आज अनुगमन गरिएको विभागका उपमहानिर्देशक सुरेन्द्र सुवेदीले जानकारी दिनुभयो । “ यी उद्योगमा वातावरण संरक्षण ऐन, २०५४ र नियमावली २०५५ ले दिएको अधिकार प्रयोग गरी अनुगमन गर्दा उपत्यकामा ४० माइक्रोनभन्दा कमको एवम् उपत्यका बाहिर ३० माइक्रोनभन्दा कम क्षमताको झोला बिक्रीवितरण निषेध गरिएबमोजिम उत्पादन नभएको पाइयो”–उहाँले भन्नुभयो ।

औद्योगिक क्षेत्र बाहिरका अन्य ३४ उद्योगमा मङ्गलबारदेखि अनुगमन गरी निषेध गरिएका प्लास्टिक झोला उत्पादन गरेको पाइएमा कारबाही गरिने विभागले जनाएको छ । उपत्यका बाहिरका उद्योगमा पनि क्रमशः अनुगमन गरिने छ ।

घरेलु तथा साना उद्योग विभागका अनुसार हाल उपत्यकामा ४० प्लास्टिक झोला उत्पादक उद्योग छन् । विभागले आज महानगरपालिकासँग गरेको बैठकमा विभागमा दर्ता गरी घरकै कोठामा नै प्लास्टिक झोला उत्पादन गर्ने उद्योग सञ्चालन भएको जानकारी आएकाले थप कडाइका साथ अनुगमन गर्ने निष्कर्ष निकालिएको उपमहानिर्देशक सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया