दुर्गम बस्तीका जनता सरकारी सेवाबाट वञ्चित

इनेप्लिज २०७२ भदौ १४ गते १०:३४ मा प्रकाशित

जाजरकोट, १४ भदौ । यहाँका एक दर्जन बढी अति दुर्गम ठाउँका स्थानीयवासीले सरकारी सेवा लिन नपाएको गुनासो गरेका छन् । आफ्नो पहुँचभन्दा टाढा भएका कारण सरकारी सेवा लिन नपाएको दुर्गमका स्थानीयवासीले गुनासो गरेका हुन् ।

जिल्लाका अति दुर्गम ठाउँ खगेनकोटको मंसिरी, रग्दाको ध्यारगाउँ, रावतगाउँ, बाँनियगाउँ, नायकवाडाको धुमा, जिरी, दहको जुनी निपानेलगायतका एक दर्जन बढी ठाउँका स्थानीयवासीले सरकारी सेवा टाढा भएका कारण लिन नपाएको गुनासो गरेका छन् । यहाँका अधिकांश स्थानीयवासी नियमित खोप, सुत्केरी सेवा, परिवार नियोजन सेवा, औषधि, कृषि कार्यालयबाट बीउबिजन, तरकारीमा प्रयोग हुने औषधि, पशुचौपायालाई औषधि, स्वास्थ्य परीक्षणको सेवा पाउनबाट वञ्चित रहेका हिमालय प्रावि मंसिरीका शिक्षक हरिबहादुर सिंहले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – “सरकारी सेवा लिन दुई दिनको समय खर्चिनु पर्छ । सुत्केरीलाई दुई दिन पैदल दूरीमा कसरी लिएर जाने ? बाटो अप्ठ्यारो छ ।” सुगम ठाउँका स्थानीयवासीले मात्र सरकारी सेवा सहज रुपमा पाउने यहाँका स्थानीयवासीको आरोप छ ।

दुर्गमका स्थानीयवासीलाई कृषि कार्यालयमा तरकारीको बीउ, पशु कार्यालयमा औषधि, विभिन्नखालका जनचेतनामूलक कार्यक्रम कतिखेर हुन्छ जानकारी नहुँदा सेवा लिन नपाएको जिरीका हरिबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार गाउँका टाठाबाठाले मात्र सरकारी सेवा पाउने गरेका छन् ।

पर्याप्त दरबन्दी नहँुदा सबै ठाउँमा कृषि, पशुसेवा कार्यालयका कर्मचारीहरु पुग्न नसक्ने गरेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत चित्रबहादुर रोकायले बताउनुभयो । एक गाउँबाट अर्को गाउँमा जानमात्र चार घन्टाभन्दा बढी समय लाग्ने यहाँका बस्तीमा सरकारी सेवा विस्तार नगर्ने हो भने ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तै हुन जान्छ ।

पायक पर्ने ठाउँमा सरकारी कार्यालय नहुँदा सरकारी सेवा लिने स्थानीय जनताको कम उपस्थिति रहने गरेको छ । यहाँका सबै गाविस सडक सञ्जालसँग नजोडिएका कारण पनि सहज रुपमा एक ठाउँबाट अर्को ठाउँमा जान समस्या हुने गरेको छ ।

प्रतिक्रिया