आमहडतालमा पनि विद्यालय खुल्यो

इनेप्लिज २०७२ भदौ १४ गते ७:४० मा प्रकाशित

Chitwan_district_locationचितवन, १४ भदौ । राजनीतिक दल, मानवअधिकारवादी सङ्घ सङ्गठन, विद्यार्थीलगायतले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने माग गरेपछि आम हडतालबीच आज चितवनका सम्पूर्ण विद्यालय सञ्चालनमा आएका छन् ।

जिल्ला शिक्षा कार्यालय चितवनले आइतबार यहाँ आयोजना गरेको कार्यक्रममा सरोकारवालाले जो कसैबाट बन्द र हडतालको आह्वान भएपनि शिक्षण संस्था खुल्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा अधिकांश दलले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्नेमा सहमति जनाएका थिए । त्यस लगत्तै आमहडताल आयोजना गरेको थारु कल्याणकारी सभाका प्रतिनिधिहरुसँग प्याब्सन चितवनको पहलमा वार्तासमेत भएको थियो ।

वार्तापछि थारु कल्याणकारी सभाले विद्यालय सञ्चालन गर्न अवरोध नगर्ने प्रतिबद्धता जनाएको प्याब्सन चितवनका अध्यक्ष बेलबहादुर गुरुङले बताउनुभयो ।

आज यस जिल्लाभर निजी र सरकारी विद्यालय सञ्चालन भएका छन् । निजी विद्यालयका बससमेत चलेको प्याब्सन चितवनका अध्यक्ष गुरुङले बताउनुभयो ।

चितवन जिल्लामा कक्षा १ देखि १२ सम्म पढ्ने विद्यार्थीको सङ्ख्यामात्र एक लाख पचास हजार रहेको छ । जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले शिक्षण संस्थालाई शान्ति क्षेत्र मान्न सबै सहमत भएपछि आम हडतालमा समेत विद्यालय सञ्चालनमा आएको बताउनुभयो ।

यता बन्दको विकल्प खोज्न माग गर्दै नारायणगढका व्यवसायीले आज बिहान भरतपुर नगर क्षेत्रमा सद्भाव र्‍यालीको आयोजना गरेका छन् । कसैलाई पनि बन्दको आह्वान नगर्न आग्रह गर्दै आयोजना गरिएको सद्भाव मोटरसाइकल र्‍यालीले नारायणगढ र भरतपुरको परिक्रमा गरेको थियो ।

बन्दका कारण रोकिएका सवारी साधनलाई समेत स्थानीय प्रशासनले सुरक्षा दिएर गन्तव्यतर्फ पठाएको छ । बन्दकर्ताले मोटरसाइकल चल्न दिएपछि स्थानीयवासीले केही राहत महसुस गरेका छन् ।

प्रतिक्रिया