मधेस बन्दका कारण पेट्रोलियम पदार्थको हाहाकार

इनेप्लिज २०७२ भदौ १४ गते ३:१२ मा प्रकाशित

गौशाला, १४ भदौ । अनिश्चितकालीन मधेस बन्दको कारण महोत्तरीको सदरमुकाम जलेश्वरमा पेट्रोलियम पदार्थको हाहाकार भएको छ ।

विगत १७ दिनदेखि मधेस बन्दका कारण जलेश्वरको सात वटा पेट्रोलपम्पमा पेट्रोल र डिजेल पाउन छाडिएको छ । त्यस्तै जिल्लाको पिपरा, रामगोपालपुर, औरही, सुगा, सहोडवा, मनरा, सम्सी, गौशालासहितका ठाउँमा रहेको पेट्रोलपम्पमा पनि पेट्रोलियम पदार्थ नरहेको जनाइएको छ ।

जिल्लामा पेट्रोलियम पदार्थको अभाव भएपछि मोटरसाइकल चढ्ने भारतको विभिन्न ठाउँबाट पेट्रोल ल्याउन बाध्य भएका छन् भने अधिकांशले कालो बजारीको मार सहँदै चर्को मूल्यमा पेट्रोल किन्न बाध्य भएका छन् ।

त्यस्तै ढिलो गरी महोत्तरीमा वर्षा भएपछि अहिले किसानलाई धानखेती रोपाइँ गर्ने चटारो भएका बेला मधेस बन्द हुँदा खेत जोत्न ट्र्याक्टर चलाउन डिजेल पाउन मुस्किल भएकाले किसान थप समस्यामा परेका छन् ।

मधेस बन्दको कारण भएको पेट्रोलियम पदार्थको हाहाकार पछि जलेश्वरमा ससाना पसले तथा फुटपाथमा केही व्यक्तिले बन्दको मौका छोप्दै भारतको विभिन्न ठाउँबाट पेट्रोल ल्याएर व्यापकरुपमा कालोबजारी गरेका छन् ।

सदरमुकाम जलेश्वरमा अहिले पेट्रोल प्रतिलिटर रु २०० का दरले पाइन्छ भने जिल्लाका विभिन्न गाउँमा पेट्रोल प्रतिलिटर रु २५० सम्म पुगेको जिल्लावासी बताउँछन् ।

त्यस्तै ट्र्याक्टरवालाले डिजेल अभावको कारण किसानको खेती जोत्न मानेका छैनन् जसले ढिलै गरी पानी परे पनि महोत्तरीमा रोपाइँ हुन नसक्ने भएको छ ।

यसरी जलेश्वरलगायत जिल्लाको अधिकांश भागमा भएको पेट्रोलियम पदार्थको चरम अभावप्रति स्थानीय प्रशासन र आन्दोलनकारी कसैले ध्यान नदिएको सर्वसाधारणको गुनासो रहेको छ ।

प्रतिक्रिया