जातजातिका बीचमा सद्भाव बढाउन रक्तदान

इनेप्लिज २०७२ भदौ १४ गते १:४४ मा प्रकाशित

raktadaanकाठमाडौँ, १४ भदौ । नेपाली नागरिकमा आपसी सद्भाव बढाउने उद्देश्यले मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले सद्भाव रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

गोकर्णेश्वर नगरपालिकाको जोरपाटीमा आइतबार आयोजना गरिएको सद्भाव रक्तदानमा ६५ जनाले रक्तदान गरेको आयोजक समितिका सभापति बटुककृष्ण ढुङ्गेलले जानकारी दिनुभयो । “जुनसुकै जातजाति र भाषाभाषीका भए पनि हामी नेपाली नागरिक हौँ भन्ने सन्देश दिन यो कार्यक्रमको आयोजना गरिएको हो”–उहाँले भन्नुभयो ।

समाजका संस्थापक सभापति कृष्ण पहाडीले जातजाति र भाषाभाषीलाई उचालेर नेपालको अखण्डतामाथि धावा बोल्ने प्रयास भइरहेकाले त्यसलाई असफल बनाउन नागरिकस्तरबाट यस्ता कार्यक्रम गरिनु स्वागतयोग्य भएको बताउनुभयो ।

समाजका महासचिव उत्तम पुडासैनीले जुनसुकै जातजाति र भाषाभाषीको भए पनि सबै नेपाली हुन् भन्ने सन्देश दिन देशभर यस्ता कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो ।

“जुनसुकै जातका मानिसको रगत बिरामी परेका बेला अर्को जातकालाई बचाउन उपयोगी हुने र यसले सद्भाव कायम गर्न सहयोग गर्ने भएकाले यो कार्यक्रमको आयोजना गरिएको हो”– उहाँले भन्नुभयो ।

प्रतिक्रिया