सामुदायिक सेवा केन्द्रलाई निःशुल्क जग्गा प्रदान

इनेप्लिज २०७२ भदौ १४ गते १:४४ मा प्रकाशित

खोटाङ, १४ भदौ । सामुदायिक विकास सेवा केन्द्र खोटाङको भवन निर्माणका लागि जिल्लाका एक समाजसेवीले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको छ ।

रतन्छाका कृषिविज्ञ एवम् समाजसेवी मदन राईले केन्द्रको भवन निर्माणका लागि दिक्तेल नगरपालिका–५ रत्नपार्क नजिक आठ आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो ।

जग्गा दाता राईले हालसम्म भवन अभावमा रत्नपार्कस्थित पुरानो दिक्तेल गाविसको भवनमा सञ्चालन हुँदै आएको केन्द्रलाई निःशुल्क जग्गा उपलब्ध गराउनुभएको केन्द्रका अध्यक्ष सनमान खड्काले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटा र प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीको आग्रहमा राईले सामुदायिक विकास केन्द्रलाई निःशुल्क जग्गा उपलब्ध गराउनुभएको खड्काको भनाइ छ ।

जग्गादाता राईले यसअघि नेपाल पत्रकार महासङ्घ, अपाङ्ग सेवा सङ्घ, किरात राई यायोक्खा, सामुदायिक वन उपभोक्ता महासङ्घ, भूपू सैनिक सङ्घ, महिला एकता अध्ययन केन्द्र, मानवअधिकारका लागि एकल महिला सञ्जाललगायतलाई जग्गा दिइसक्नुभएको छ ।

प्राप्त जग्गामा यसै वर्षभित्र नयाँ भवन निर्माण गरिने सामुदायिक विकास सेवा केन्द्रले जनाएको छ ।

प्रतिक्रिया