आँखा अस्पतालको आचारसंहिता बन्नुपर्छ

इनेप्लिज २०७२ भदौ १३ गते १२:०० मा प्रकाशित

jalbindu-e1424859191282भद्रपुर, १३ भदौ । मेची अञ्चलकै सबैभन्दा ठूलो मेची आँखा अस्पतालले हालसम्ममा १६ लाख ५१ हजार ७५५ जनाको आँखा परीक्षण गरेको जनाएको छ ।

सन् १९९६ मा झापाको चारपानेमा स्थापना भएको मेची आँखा अस्पतालले अहिले विर्ताबजारमा चार बिगाहा क्षेत्रफलमा आफ्नै भवनबाट सेवा सुरु गरिरहेको छ ।

स्थापनाकालदेखि अहिलेसम्ममा एक लाख ९० हजार ८६९ जनाको आँखाको शल्यक्रिया पनि गरिएको छ ।

अस्पतालले पछिल्लो समयमा आएर नानी प्रत्यारोपण गर्ने सेवा आरम्भ गरेदेखि एकजनाको नानी प्रत्यारोपण गरी उनलाई संसार देखाउन सफल भएकामा मेची आँखा अस्पतालले आफ्नो सेवालाई गौरवान्वित मानेको छ ।

दृष्टि कमजोर, मोतियाबिन्दु र आँखा पाक्ने रोगका बिरामी बढी आउने यो अस्पतालमा मेची अञ्चल र छिमेकी राष्ट्र भारतबाट बढी बिरामी आउने गरेको पाइन्छ ।

मेची आँखा अस्पतालले दिएको जानकारीअनुसार नेदरल्यान्डको आर्थिक एवम् प्रविधि सहयोग रहेको यो अस्पतालमा १७ देखि ४० वर्ष उमेर समूहका आँखा रोगी बढी आउने गरेका छन् ।

नेदरल्यान्ड सरकारले सन् २०१४ मा रु एक करोड ६९ लाख ५१ हजार ५०० बराबरको सहयोग गरेको अस्पताल प्रशासनले जनाएको छ ।

सामान्यतया रु ५० र पेइङमा रु १५० शुल्क निर्धारण गरेको अस्पतालले सेवा सँगसँगै आम्दानी पनि गर्न सफल भएको छ ।

करिब ६७ जना जनशक्ति रहेको यो अस्पतालले सन् २०१४ मा बहिरङ्ग सेवा एक लाख ६४ हजार ३१९ जना र सर्जरी २३ हजार ८४७ जना गरेको अस्पताल प्रशासनले जानकारी दिएको छ भने अहिलेसम्ममा रु छ करोड ५६ लाख २० हजार ३२२ आम्दानी गर्न सफल भएको छ ।

अघिल्लो वर्षमा एक वर्षको अवधिमा रु आठ करोड नौ लाख ५४ हजार आम्दानी गरेको थियो ।

आम्दानी विगतको भन्दा क्रमशः बढ्दै गएको र यसबाट अस्पतालको सेवा विस्तार गर्न र गुणस्तर कायम गर्न मद्दत पुगेको बताइएको छ ।

मुलुकभरमा मेची आँखा अस्पताल जस्तै १७ वटा आँखा अस्पताल रहेकाले कुनै जिल्ला दोहोरो र तेहोरो हुने भएकाले आँखा अस्पतालमा उपचार गर्न आउने बिरामीको लोकतान्त्रिक अधिकार सुरक्षित पार्न एउटा आचारसंहिता बन्नुपर्ने आवश्यकता देखिएको छ ।

आचारसंहिता निर्माण भएमा बिरामीलाई कसैले पनि जबर्जस्ती नगर्ने र उनीहरुले इच्छा लागेको ठाउँमा उपचार गर्न पाउने छन् ।

झापा जिल्लाकै पूर्र्वी प्रवेशद्वार काँकडभिट्टामा निर्माणाधीन अवस्थामा रहेको आँखा अस्पतालले पनि निकट भविष्यमै आफ्ना सेवा सुरु गर्ने अवस्थामा छ ।

खानपिन, सन्तुलित आहार, चोटपटक एवम् विभिन्न कारणले आँखा कमजोर हुने र पछि दृष्टिविहीन हुने खतरा रहेकाले समयमै आँखाको जाँच गर्नुपर्ने चिकित्सकको भनाइ छ ।

मेची आँखा अस्पतालका प्रशासन प्रमुख सुरज रौनियारले पैसाको कारण कुनै पनि बिरामीलाई नफर्काएको भन्दै अस्पतालले बिरामीलाई सक्दो सहयोग गरिरहेको बताउनुभयो ।

उहाँले दक्ष जनशक्ति र नयाँ–नयाँ प्रविधिको व्यवस्था गरी सेवालाई विविधता दिनु नै अस्पतालको चुनौती रहेको उल्लेख गर्नु भयो ।

स्थानीय वृद्धा दिलकुमारी पोखरेलले सरकारले ज्येष्ठ नागरिकलाई निःशुल्क आँखाको उपचार गर्ने व्यवस्था मिलाउन माग गर्नुभयो ।

पूर्वाञ्चलमा सबैभन्दा पुरानो र पहिलो स्थापना भएको गोल्छा आँखा अस्पतालपछि अहिले धेरै आँखा अस्पताल खुलिसकेको र अझ खुल्ने क्रम जारी रहेकाले यसलाई सरकारले व्यवस्थित गर्न सकेमा सेवाग्राही अझ लाभान्वित हुने आशा गर्न सकिन्छ ।

प्रतिक्रिया