गोसाइँकुण्ड जलयात्रा सुरु

इनेप्लिज २०७२ भदौ १३ गते ३:४७ मा प्रकाशित

धुन्चे (रसुवा), १३ भदौ । ‘सबै जातजाति, भाषाभाषीको सद्भाव र एकता अटल रहोस्’ भन्ने कामनासहित गोसाइँकुण्डबाट आज जलयात्रा सुरु भएको छ ।

देशमा दिगो शान्तिको कामना गर्दै २०६३ सालमा साइकल यात्रा सुरु गरेका पर्सा जिल्ला ठोरी गाविस–७ निवासी ४० वर्षीय बुद्धिबहादुर गुरुङले पछिल्लो चरणमा जलयात्रा सुरु गर्नुभएको छ । जनैपूर्णिमाको अवसरमा पारेर गोसाइँकुण्ड पुगी ल्याएको जल पशुपतिनाथलगायत देशका सबै मठमन्दिरमा चढाई देशमा दिगो शान्तिको कामना गर्ने आफ्नो उद्देश्य रहेको गुरुङले बताउनुभयो ।

नीतिनिर्माण गर्ने तहमा आसीन सबै तह र तप्काका महानुभावलाई समेत जलको अभिषेक गराउने उहाँको योजना छ । जलयात्री गुरङले आज बिहानदेखि धुन्चेबाट सो जलयात्रा सुरुआत गर्नुभएको हो

यसैबीच जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्ड पुगेका तीर्थयात्री धमाधम फर्कने क्रम सुरु भएको छ । कुण्ड पुगेका यात्रुलाई कुनै पनि समस्या नआएको र सहज रुपले यात्रा भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

प्रतिक्रिया