समानुपातिक प्रतिनिधित्वको विषयबाट पछि नहट्न सुझाव

इनेप्लिज २०७२ भदौ १२ गते १५:५१ मा प्रकाशित

काठमाडौँ, १२ भदौ । प्रस्तावित २ नं सङ्घीय प्रदेशअन्तर्गतका जिल्लाका नेपाली काँग्रेसका सभासद्ले अन्तरिम संविधानले स्वीकार गरिसकेका समानुपातिक प्रतिनिधित्वको विषयबाट पछि नहट्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।

संविधानसभा भवन नयाँ बाानेश्वरमा पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला र दलका पदाधिकारीसँगको छलफलमा सभासद्ले आन्दोलनरत दलसँग वार्ता अघि बढाउन, मस्यौदामा देखिएका कमजोरी सच्याउन र यथाशक्य छिटो संविधान जारी गर्न अनुरोध गर्नुभएको थियो ।

अन्तरिम संविधनले प्रदान गरेका कतिपय अधिकारसमेत कटौती भएर मस्यौदा आएकाले त्यसलाई परिमार्जन गर्न र वंशजका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्ततिलाई सोही आधारमा नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था मिलाउनुपर्ने विषयमा केन्द्रित रहेर सभासद्ले सुझाव दिएको पार्टीका नेता एवम् सभासद् आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।

उहाँहरुले २ नं प्रदेशमा चुरेसहित उदयपुर, सिन्धुली र मकवानपुरलाई समेट्नुपर्छ भन्ने आफूहरुको माग भए पनि अहिले सो विषयलाई चलाउँदा समयमै संविधान आउने बाटामा चुनौती खडा हुने देखेकाले स्थगन गर्नुपरेको भनाइ राख्नुभएको थियो ।

आन्दोलनकारीसँग वार्ता गर्न अन्तरिम संविधानले स्वीकार गरेको समानुपातिक र समावेशी प्रतिनिधित्वको सुनिश्चित गर्न र हाल कोरिएको प्रदेशको सीमालाई यथावत् राखेर छिटो संविधान जारी गर्न नेतृत्वलाई सुझाव दिइएको सभासद् सुनिलकुमार यादवले जानकारी दिनुभयो ।

प्रदेश नं ३ का सभासद्सँग पनि पार्टी नेतृत्वले छलफल गरी राय सुझाव सङ्कलन गरेको छ । सो अवसरमा प्रधानमन्त्री कोइरालाले सभासद्को भावनालाई सकेसम्म व्यवस्थापन गर्न प्रयास गरिने बताउनुभएको थियो ।

प्रतिक्रिया