कोरला नाका खुलाउन कूटनीतिक पहल

इनेप्लिज २०७२ भदौ १२ गते ४:०९ मा प्रकाशित

Mustang_district_locationमुस्ताङ, १२ भदौ । लामो समयदेखि बन्द रहेको मुस्ताङको कोरला नाका खोल्न कूटनीटिक पहल थालिएको छ ।

नेपाल र चीनबीच व्यापारिक दृष्टिकोणले सबैभन्दा नजिक र उत्तम मानिएको कोरला नाका खोल्न जिल्लाका सभासद् र सरोकारवाला पक्षले पहल थालेका हुन् । यही नाकामार्फत हुने कारोबारलाई व्यवस्थित बनाउन १५ वर्षपछि गत असार पहिलो सातादेखि छोसेरमा नेचुङ भन्सार कार्यालय सञ्चालनमा आइसकेको छ ।

मुस्ताङका सभासद् रोमी गौचन थकालीले नाका सञ्चालन गर्न परराष्ट्र मन्त्री, सचिवदेखि प्रधानमन्त्रीसम्म छलफल गरिएको बताउनुभयो ।

“कूटनीतिक रुपमा अघि बढ्नुपर्छ, विगतमा हाम्रोतर्फबाट त्यति पहल भएन” उहाँले भन्नुभयो “नेपालको विकासका लागि यो नाका खोल्न एकदमै आवश्यक छ ।” नाका सञ्चालन गर्नसके बर्खाको छ महिना तातोपानी भन्सारको विकल्प हुने उहाँको भनाइ छ । विसं २०६२÷६३ अघिसम्म नाका खुल्ला रहेका कारण दुवै देशका सीमा क्षेत्रका नागरिक सजिलै आवतजावत र दैनिक उपभोग्य सामान किनबेच पनि चल्ने गरेका थिए । तर त्यसपछि चिनियाँ पक्षले सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ ।

तिब्बतसँगै सिधै जोडिएकाले यो नाकालाई चीनले सुरक्षाको हिसाबले अति ‘संवेदनशील’ मान्दै आएको छ । विसं १९७४ ताका तिब्बतीयनले मुस्ताङको यही नाका हुँदै ‘खम्पा विद्रोह’ सञ्चालन गरेकाले पनि चीनले पछिल्लो समय सुरक्षा व्यवस्थालाई थप चुस्त बनाउँदै लगेको हो ।

“कूटनीतिक हिसाबमा चीनको सुरक्षा चिन्तालाई हामीले विश्वस्त बनाउनुपर्छ, यसो गर्न सकियो भने चीन पनि यसमा नकारात्मक छैन”, सभासद् गौचनले भन्नुभयो । व्यापारिक र धार्मिक दृष्टिकोणले नाका सञ्चालन गर्न आवश्यक देखेर आफ्नो तहबाट गृह र परराष्ट्र मन्त्रालयमा छलफल चलाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले बताउनुभयो ।

प्रतिक्रिया