धनगढीमा निषेधाज्ञा यथावत्

इनेप्लिज २०७२ भदौ १२ गते ३:४८ मा प्रकाशित

Tharuhat-300x198धनगढी, १२ भदौ । धनगढी नगर क्षेत्रमा जिल्ला प्रशासन कार्यालय कैलालीले लगाएको निषेधाज्ञा (कफ्र्यु) आज पाँचौँ दिन पनि यथावत् रहेको छ ।

धनगढी नगर क्षेत्रमा जारी गरिएको निषेधाज्ञा आज बिहान ११ बजेदेखि साँझ ६ बजेसम्मको समयमा यथावत् रहेको सहायक प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंहले बताउनुभयो ।

जिल्लाको टीकापुरमा यही भदौ ७ गते भएको हिंसात्मक घटना लगत्तैबाट त्यहाँ अनिश्चितकालका लागि लगाइएको निषेधाज्ञा आज पनि यथावत् रहेको छ ।

घटना लगत्तैबाट टीकापुर र भजनी–त्रिशक्ति नगरपालिकासहित आसपासका गाविसलाई दङ्गाग्रस्त क्षेत्रसमेत घोषणा गरी सुरक्षाको व्यवस्थापन गरिएको छ ।

यसैबीच कैलालीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईंले सामाजिक सञ्जाल फेसबुक र ट्विटरमार्फत सामाजिक सद्भाव खलबलिने आशयका सन्देश सूचना प्रवाह नर्गन सबैमा आग्रह गर्नुभयो ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाँले सामाजिक सञ्जालमार्फत यस्ता अपवाह फैलाउनेलाई कानुनबमोजिम कारबाही गरिने छ भन्नुभयो ।

पत्रकारको प्रश्नमा उहाँले स्थानीय प्रशासन ऐनअनुसार जिल्लामा नेपाली सेनालाई मुख्य भूमिकाका रुपमा नभई सहायक भूमिका ‘ब्याक फोर्स’ का रुपमा परिचालन गरिएको बताउनुभयो ।

प्रतिक्रिया