नेवार समुदायको ढल्की बाजा संरक्षण गर्दै युवा

इनेप्लिज २०७२ भदौ १२ गते ३:४० मा प्रकाशित

चितवन, १२ भदौ । नेवार समुदायको परम्परागत ढल्की बाजा लोप हुँदै गएपछि यहाँका युवा संरक्षणमा जुटेका छन् ।

पछिल्लो समय भने चितवनमा बसोबास गर्ने नेवार समुदायका धेरैजसो संस्कृति लोप हुने अवस्थामा पुगेको भन्दै उनीहरु संरक्षणमा जुटेका हुन् । अघिल्लो पुस्ताका व्यक्तिबाट नयाँ पुस्ताले ग्रहण गर्न नसक्दा धेरै संस्कृति लोप हुने अवस्थामा पुगेको उनीहरुको भनाइ छ । जसले गर्दा अहिले युवा आफ्नो संस्कृति जोगाउनमा लागिपरेका हुन् ।

लोप हुँदै गएको ढल्की भुच्चे बाजाको संरक्षणका लागि अहिले हरेक दिन साँझपख नारायणी किनारमा रहेको राममन्दिरमा युवा बाजा सिकिरहेको देख्न सकिन्छ । यसको संयोजन पासाः पुचः नारायणगढले गरिरहेको छ । ढल्की, भुच्चे बाजा प्रशिक्षण कार्यक्रम सुरु गरेपछि युवा अहिले बाजा बजाउन सिक्नमा व्यस्त देखिन्छन् ।

पासाः पुचः नारायणगढका संस्थापक संयोजक आश्विन श्रेष्ठले बाजा बजाउने मान्छे नहुँदा संस्कृति नै लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षणका लागि युवा सक्रिय बनेको बताउनुभयो ।
यो बाजा गाईजात्राको दिन बजाउने गरिन्छ । पितृलाई समर्पित बाजा भएकाले यसको प्रशिक्षण यही मेसोमा मिलाइएको छ । नागपञ्चमीको दिनदेखि सुरु भएको यो प्रशिक्षण गाईजात्राको अघिल्लो दिनसम्म चल्छ । त्यसपछि यो बाजा बजाउन मिल्दैन । जसले गर्दा चार वर्षअघिबाट प्रत्येक वर्ष नागपञ्चमीको दिनदेखि गाईजात्राको अघिल्लो दिनसम्म मात्रै यो बाजाको प्रशिक्षण गराउने गरिएको नारायणगढका युवा प्रशान्त पियाले बताउनुभयो ।

पुतली बजारका १३ वर्षीय सुलभ पिया अहिले निकै मन दिएर प्रशिक्षण कार्यमा सहभागी भइरहेको छ । बालकले भने “बुबाले घरमा बजाएको देख्दा मलाई पनि बजाउन मन लाग्यो, अहिले राम्ररी बजाउन सिक्दै छु ।” आफूले बाजा बजाउन सिकेर आफ्नो परम्परा जोगाउन लागि पर्ने उनले बताए ।

अहिले सो बाजा सिक्नका लागि १३ वर्षीय बालकदेखि ४० वर्षसम्मका व्यक्ति लागिपरेका छन् ।

प्रशिक्षक शेखरकुमार श्रेष्ठ र महेन्द्र श्रेष्ठले सो बाजाको प्रशिक्षण दिँदै आउनुभएको छ । प्रशिक्षण कार्यक्रमका संयोजक सिद्धार्थलाल चुकेले युवापुस्तालाई बाजा संरक्षणका लागि प्रशिक्षणको आयोजना गरिएको बताउनुभयो ।

युवा पुस्ताले बाजा संरक्षणमा चासो नदेखाए संस्कृति नै लोप हुनसक्ने उहाँ बताउनुहुन्छ ।
युवा पुस्तामा पाश्चात्य संस्कृतिको प्रभाव बढ्दै जाँदा आफ्नो संस्कृतिप्रतिको मोह घटेर गएको हो । आफ्नो परम्परागत संस्कृति र कलाप्रति युवाको मोह घट्दा यो लोप हुने अवस्थामा पुगेको छ । तीन सय ६५ दिनमा ३६६ पर्व हुने समुदायका रुपमा परिचित नेवार समुदायले समयमै संस्कृतिको जगेर्नामा नलागेमा लोप हुने खतरा देखिन्छ ।

प्रतिक्रिया