सरकारी सहुलियत मूल्य नै महँगो भएपछि चामल बिक्री हुनै छाड्यो

इनेप्लिज २०७२ भदौ ११ गते ११:०२ मा प्रकाशित

Rss_Images_1440749673496_SP-Taplejung- khadhyaताप्लेजुङ, ११ भदौ । बजार मूल्यभन्दा महँगो भए पछि ताप्लेजुङमा रहेको खाद्य संस्थानको चामल बिक्री अघिल्लो आवको तुलनामा झन्डै ६० प्रतिशतभन्दा बढीले घटेको छ ।

संस्थानको शाखा कार्यालय ताप्लेजुङका अनुसार आव २०७०÷७१ मा दुई हजार ९०१ क्विन्टल चामल बिक्री भएकामा गत आवमा एक हजार २५८ क्विन्टलमा झरेको छ ।

कार्यालयका प्रमुख जीतबहादुर तुम्बापोले बजार मूल्यभन्दा केही महँगो हुनु, यातायातको सुविधाले उपभोक्ताले गाउँघरमै चामल किन्न पाउनु जस्ता कारण खाद्य संस्थानको चामल बिक्रीदर घटेको बताउनुभयो । उहाँका अनुसार आव २०७०÷७१ मा चामल बिक्रीबाट खाद्य संस्थान शाखाले रु एक करोड चार लाख ४३ हजार ८६० सङ्कलन गरेको थियो । चालु आवमा कुल रु ५१ लाख ९५ हजार ७२५ बराबरको मात्र चामल बिक्री भएको तुम्बापोले जानकारी दिनुभयो ।

यस्तै आव २०७१÷७२ मा बिक्री नभएको ९९५ क्विन्टल चामललाई चालु आवमा बिक्री गरी सक्ने कार्यालयको लक्ष्य छ । खाद्य संस्थानको शाखा कार्यालयसँग चालु आवमा आयात भएको एक हजार ९९३ र अघिल्लो ९९५ गरी कुल दुई हजार ९८८ क्विन्टल चामल मौज्दात रहेको छ । “चामल बिक्रीको पछिल्लो अवस्था हेर्दा चालु आव पनि सन्तोषजनक देखिँदैन,” तुम्बापोले भन्नुभयो ।

खाद्य संस्थानले बिक्री गर्ने चामलको मूल्य प्रतिकेजी रु ४१ रहेको छ । सोही चामलको खुल्ला बजार मूल्य प्रतिकेजी रु ३८ मात्र छ । यसरी बजार मूल्यभन्दा संस्थानले बिक्री गर्ने चामलको मूल्य प्रतिकिलो रु तीनले महँगो देखिएको छ । प्रतिस्पर्धात्मक बजारमा मूल्य दाँजेर लिने उपभोक्ता भाउ सोध्दै फर्कने गरेको शाखाले जनाएको छ ।

संस्थानको चामल बजारको भन्दा केही सस्तो हुँदा सेवाग्राहीको भीड लाग्ने र जिल्लाको कोटाले नै नधान्ने गरेकामा पछिल्ला वर्ष चामल बिक्री हुन छाडेपछि मूल्य समायोजनबाहेक अर्को उपाय नहुने तुम्बापोले बताउनुभयो ।

अझ देशभरका कारागारमा रहेका कैदीलाई दिइने सिदाका लागि खाद्य संस्थानको चामल मात्र उपयोग गरिन्छ । सोहीअनुसार यहाँका कैदीबन्दीले बजार मूल्यभन्दा महँगो चामललाई खाद्यान्नको रुपमा प्रयोग गरिरहेका छन् । दुर्गम भेगका जनतालाई सहुलियत दरमा दिने मुख्य उद्देश्य राखेर जनताले खाद्य संस्थानमार्फत वितरणको व्यवस्था मिलाएको भएपनि बजार मूल्यभन्दा सरकारी सहुलियत मूल्य महँगो देखिएको छ ।

खाद्य संस्थानले यहाँका उपभोक्तालाई रु ४१ प्रतिकिलोमा बेच्दै आएको चामल कारागार शाखालाई रु ४८ मा मात्र उपलब्ध गराउँछ ।

प्रतिक्रिया