कक्षा १२ को विज्ञान सङ्कायमा ७१.६५ प्रतिशत विद्यार्थी उत्तीर्ण

इनेप्लिज २०७२ भदौ ११ गते ११:०० मा प्रकाशित

भक्तपुर, ११ भदौ । कक्षा १२ को विज्ञान सङ्कायमा ७१ दशमलव ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले आज कक्षा १२ को विज्ञान सङ्कायको परीक्षाफल सार्वजनिक गर्दै नियमिततर्फ ३७ हजार ९९८ परीक्षार्थी रहेकामा २७ हजार २२७ जना परीक्षार्थी उत्तीर्ण भएको जानकारी दिएको छ ।

परिषद्का परीक्षा नियन्त्रक सन्तोष अर्यालले परीक्षाफलबारे जानकारी दिँदै आंशिकतर्फ ४४ दशमलव ३० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको जानकारी दिनुभयो ।

आंशिकतर्फ आठ हजार ४०६ जना परीक्षार्थीले परीक्षा दिएकामा तीन हजार ७२४ जना परीक्षार्थी उत्तीर्ण भएको उहाँले जानकारी दिनुभयो ।

परीक्षार्थीहरुमध्ये परीक्षामा अनियमितता गर्ने नियमिततर्फका ५७ जना र आंशिकतर्फका १३ जना गरी ७० जनाको परीक्षाफल रद्ध गरिएको छ ।

परिषद्ले जेठ २० देखि ३१ गतेसम्म ६८ जिल्लामा र असार १४ देखि २३ गतेसम्म भूकम्प अतिप्रभावित सात जिल्लामा परीक्षा सञ्चालन गरेको थियो ।

परीक्षा सम्पन्न भएको ५० दिनमा परिषद्ले परीक्षाफल सार्वजनिक गरेको परीक्षा नियन्त्रक अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया