बन्दले पर्यटन व्यवसाय कमजोर बन्दै

इनेप्लिज २०७२ भदौ ११ गते १०:५८ मा प्रकाशित

लुम्बिनी (रुपन्देही), ११ भदौ । लगातारको बन्द र हडतालका कारण यस क्षेत्रको पर्यटन व्यवसाय प्रत्यक्ष मारमा परेको छ ।

गत वैशाखमा गएको विनाशकारी भूकम्पको त्रास हट्न नपाउँदै सुरु भएको बन्दका कारण पर्यटन व्यवसाय मारमा परेको हो । विदेशी पर्यटकले कहिल्यै खाली नहुने विश्व गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनी यो वर्षको सुरुदेखि नै लगभग सुनसान छ ।

गत वर्षको अगस्त महिनामा जम्मा १७ हजार ७७६ पर्यटक नेपाल भित्रिएको अध्यागमन कार्यालय बेलहियाको तथ्याङ्क छ । तर यो वर्षको अगस्त महिनाको तथ्याङ्कले जम्मा नौ हजार ९९४ पर्यटकमात्र नेपाल भित्रिएको देखाउँछ ।

केही दिनदेखि जारी बन्दका कारण पर्यटक आगमन झनै घटेको देखिन्छ । भदौ १ गते सुनौली नाका हुँदै नेपाल भित्रिने पर्यटकको सङ्ख्या ९५५ रहे पनि त्यसपछि भैरहवा क्षेत्रमा भएका झडपका कारण भदौ ५ गते जम्मा २४ जना पर्यटक नेपाल भित्रिएका छन् ।

भूकम्पका कारण नेपालका पर्यटकीय क्षेत्र असुरक्षित छन् भन्ने भ्रम अन्य देशमा फैलिएर तहसनहस अवस्थामा पुगेको पर्यटन व्यवसाय नेपालका राजनीतिक दल तथा विभिन्न सङ्घसंस्थाले गरेका लगातारका बन्दले प्रत्यक्ष प्रभावित बनेको छ ।

अध्यागमन कार्यालय बेलहियाका अधिकृत आनन्द पौडेल भन्नुहुन्छ – “अहिले श्रीलङ्काली पर्यटक लुम्बिनी आउने मौसम हो, तर नेपालमा संविधान निर्माणको क्रममा हालै भएका आन्दोलनले उनीहरू यहाँ आउन त्रसित छन् ।” थरुहट सङ्घर्ष समिति र संयुक्त मधेसी मोर्चाले साउनको अन्तिम सातादेखि गर्दै आएको आन्दोलन जारी छ ।

आन्दोलनकै क्रममा हुने झडप देखेर पर्यटक लुम्बिनी आउने यात्रा स्थगित गरेर फर्किने गरेका छन् । यो बन्दको बीचमा करिब ६०० जति पर्यटक बेलहियाबाट नै फर्किएको अध्यागमन कार्यालयले जनाएको छ । केन्द्रीयस्तरको बन्द स्थगन नभएसम्म अन्य क्षेत्रको पर्यटन व्यवसाय पनि कमजोर नै रहने पर्यटन व्यवसायीको भनाइ छ ।

पर्यटककै लागि भनेर खोलिएका होटलहरू पर्यटक नहुँदा बन्द हुने अवस्थामा छन् । अन्य आर्थिक क्षेत्र छोडेर पर्यटक आगमनबाट मात्र हुने दैनिक करिब रु एक करोड नोक्सान बेहोर्नुपरेको सिद्धार्थ एसोसिएसन अफ ट्राभल्स एन्ड टुर्स (साट्टा) का अध्यक्ष सागर अधिकारीको भनाइ छ ।

तराई बन्द भएको आज १४औँ दिनमा प्रवेश गरेको छ । उहाँका अनुसार पर्यटक नआउँदा मात्र लाग्ने घाटा रु १३ करोडभन्दा बढी हुन आउँछ । स्वतःस्फूर्त रुपमा पर्यटक नेपाल आउने वातावरण नभएसम्म पर्यटन व्यवसाय घाटामै रहने उहाँको भनाइ छ ।

नेपालका पर्यटकीयस्थल सुरक्षित छन्, पर्यटक जानका लागि कुनै अवरोध छैन भन्ने सन्देश फैलाउन यस क्षेत्रका होटल व्यवसायी तथा पर्यटन व्यवसायीहरूको टोली आइतबार भारतको आगरा, वनारस, कानपुरलगायतका स्थानमा प्रस्थान गरेको छ ।

प्रतिक्रिया