भरतपुर अस्पतालले ऐनमै नभएको सुविधा रेडियोलोजिस्टलाई दियो

इनेप्लिज २०७२ भदौ ११ गते १०:५७ मा प्रकाशित

चितवन, ११ भदौ । भरतपुर अस्पताल विकास समितिले ऐनमै नभएको सुविधा रेडियोलोजिस्टलाई दिने गरी निर्णय गरेर वार्षिक रु ३७ लाखभन्दा बढी अस्पताललाई आर्थिक भार थपेको छ ।

अस्पतालमा चारजना रेडियोलोजिस्ट छन् । दैनिक दुई सयको हाराहारीमा बिरामी आउने गर्छन् । अस्पतालमा दुईवटा मात्र अल्ट्रासाउन्ड मेसिन रहेका छन् । चिकित्सकले पालैपालो अल्ट्रासाउन्ड गर्ने गर्छन् ।

अस्पताल स्रोतका अनुसार बिहान बेलुकाको समयमा समेत काम गर्नुपर्ने भन्दै दबाब दिएपछि विकास समितिले अल्ट्रासाउन्ड गरेबापतको कुल आम्दानीको १२ दशमलब ५ प्रतिशत भत्ता दिने निर्णय गरेको छ । यसअघि बिहान बेलुकाको अतिरिक्त भत्ता चिकित्सकले बुझ्दै आएका थिए ।

हालैमात्र अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्ट भई आउनुभएका डा केशवराज भुर्तेलले वार्षिक रुपमा रु तीन करोडभन्दा बढी रकम सो विभागबाट उठ्ने भएकाले रु ३७ लाख ५० हजारभन्दा बढी अस्पताललाई भार थपिएको बताउनुभयो । साउन अन्तिम साता भएको विकास समितिको बैठकले सो निर्णय गरेको हो । सरकारी नियममा यो व्यवस्था नरहेको मेडिकल सुपरिटेन्डेन्ट भूर्तेलले बताउनुभयो ।

अस्पतालमा नेपाल सरकारको तलब खाने गरी कार्यरत चारजना रेडियोलोजिस्टमध्ये तीनजना स्थायी र एकजना करार कर्मचारी छन् ।

यता अस्पतालले ल्याब र रेडियोग्राफी कर्मचारीहरुलाई दिँदै आएको २० प्रतिशत जोखिम भत्ता घटाउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएपछि १२ दशमलब ५ प्रतिशतमा झारेको छ ।

महालेखा परीक्षकको कार्यालयले गत आवमा भुक्तानी भएको बढी रकम असुल उपर गर्न ताकेता गरेको छ । विकास समितिले महालेखा परीक्षकको कार्यालयको आदेश अटेर गर्दै अतिरिक्त बढी भत्ता दिँदै आएको थियो ।

महालेखा परीक्षकको कार्यालयले गत वर्षको मात्रै रु ३५ लाखभन्दा बढी भत्ता असुल उपर गर्न निर्देशन गरेको लेखा प्रमुख सूर्यप्रसाद कँडेलले बताउनुभयो । मन्त्रालयले बढी बाँडेको भत्ता असुल गर्न निर्देशन दिएपछि सो रकम असुल गराउने मेडिकल सुपरिन्टेन्डेन्ट भूर्तेलले बताउनुभयो ।

निर्देशनअनुसार काम गर्नुपर्ने बताउँदै उहाँले कार्यरत कर्मचारीको तलबभत्ताबाट र छोडेका कर्मचारीको पेन्सनबाट बढी रकम असुल गरिने बताउनुभयो । ल्याबमा सातजना र रेडियोमा चारजना कर्मचारी कार्यरत छन् ।

अस्पताल स्रोतका अनुसार रु १६ हजार तलब हुने ल्याब र रेडियोका कर्मचारीले रु ४० हजार भत्ता बुझ्ने गरेको बताइएको छ । सो विभागमा पनि वार्षिक रुपमा रु तीन करोडभन्दा बढीको आम्दानी हुने गर्छ । विगतको समयमा कर्मचारी अभाव भएकाले दिइएको अतिरिक्त काम गरेबापत भत्ता बढ्दै गएपछि अस्पताललाई भार थपिएको थियो ।

त्यसो त अस्पताल विकास समितिले यसै वर्ष नियुक्त गरेका ल्याबका तीनजना कर्मचारीलाई भने जोखिम भत्ता नदिने गरी नियुक्त गरेको छ । उनीहरुले भत्ता नपाए पनि सो रकम अस्पताललाई नआई बाँकी कर्मचारीलाई दामासाहीले थपिने हुँदा पूर्वाग्रही नियम भन्दै मेडिकल सुपरिटेन्डेन्ट भूर्तेलले दामासाहीरुपमा सबै कर्मचारीले पाउनुपर्ने बताउनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष विजय सुवेदीले रेडियोलोजिस्टहरुलाई बिहान र बेलुकाका अतिरिक्त काम गरेबापत दिँदै आएको भत्ता एकमुष्ट दिनेगरी नयाँ निर्णय गरिएको बताउनुभयो ।

प्रतिक्रिया