भूकम्पपीडितको नाममा थप तीन सय निवेदन

इनेप्लिज २०७२ भदौ ११ गते १०:१० मा प्रकाशित

बनेपा, ११ भदौ । काभ्रेपलाञ्चोकमा भूकम्पपीडितले पाउने राहत रकम र भूकम्पपीडितको परिचयपत्र पाउने नामावलीमा आफ्नो नाम छुट भएको भन्दै करिब ३०० जनाले निवेदन दिएका छन् ।

उनीहरुले भूकम्पको क्षति विवरण सङ्कलन गर्न गएको प्राविधिक टोली गाउँ गएको बेला आफूहरु सहरमा भएकाले छुटेको जिकिर गर्दै महाभारत शृङ्खला डाँडापारीको गाविस गोकुले, महाँकाल र काभ्रे गाविसबाट त्यस्ता निवेदन परेको जिल्ला प्रसान कार्यालय काभ्रेपलाञ्चोकका प्रशासकीय अधिकृत अर्जुन रिजालले जानकारी दिनुभयो । उनीहरुले आफू पीडित भएको भन्दै जिल्ला दैवी प्रकोप तथा उद्धार समितिमा निवेदन दिएका हुन् ।

स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिनाले केही गाविसमा छुट भएको निवेदन आएको जानकारी दिँदै छुट भएकाका लागि मापदण्डअनुसार कागजात तयार भए उनीहरुले राहत रकम र परिचयपत्र पाउन सक्छन् भन्नुभयो ।

उहाँले त्यसका लागि छिटो छरितो कागजात पेस गर्न सम्बन्धित पीडितलाई आग्रह गर्दै जतिबेला मन लाग्यो त्यतिबेला पेस गरेको कागजातको आधारमा सुविधा दिन सकिँदैन भन्नुभयो ।

चाँडो कागजात पेस भए स्थानीय राजनीतिक संयन्त्रको निर्णयअनुसार वास्तविक भूकम्पपीडितलाई राहत दिन सकिन्छ उहाँले भन्नुभयो । सरकारले भूकम्पका कारण पीडित भएकालाई रु १५ हजार र परिचयपत्र दिएको थियो ।

प्रतिक्रिया