बन्दका कारण स्थानीय तरकारी भारतीय बजारमा

इनेप्लिज २०७२ भदौ ११ गते ९:२८ मा प्रकाशित

tarkariलहान, ११ भदौ । संयुक्त मधेसी मोर्चा र थारु कल्याणकारी सभालगायतले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण सिरहाका किसान आफ्ना उत्पादन भारततर्फ निर्यात गर्न थालेका छन् ।

आमहडतालका कारण जिल्लाको बजार लामो समयदेखि नखुलेपछि किसानले तरकारी भारतीय बजारतर्फ निर्यात गर्न थालेका हुन् । सिरहाको फूलकाहाकट्टी, पडरिया, धनगढी, गोलबजार, असनपुर, चोहर्वालगायतका स्थानमा करेला, भन्टा, बोडी, हरियो खुर्सानी, घिरौला, काँक्रोलगायतका तरकारीको व्यावसायिकरुपमा खेती हुँदै आएको छ ।

बन्दका कारण तरकारी जिल्लाका मुख्य बजारमा आपूर्ति हुन नसक्दा छिमेकी मुलुक भारतीय बजारमा निर्यात गर्न बाध्य भएको किसानले बताएका छन् । यहाँका किसानले उत्पादन भएका हरियो तरकारी धेरै समयसम्म घरमै राख्दा बिग्रिने गरेकाले सस्तो मूल्यमा भएपनि भारतीय बजार लौकहा, लदनीयाँ, खुटौना, जयनगरलगायतमा निर्यात गर्दै आएका छन् ।

फूलकाहाकट्टीका किसान रामस्वरुप महतोले साइकल, मोटरसाइकललगायतका साधनमा बोकेर तरकारी भारतीय बजारसम्म पु¥याउने गरेको बताउनुभयो । जिल्लाका विभिन्न बजारसँगै छिमेकी जिल्ला सप्तरी, उदयपुर, धनुषासहित राजधानीसम्म पुग्ने यहाँका सागसब्जी निरन्तर बन्दका कारण भारतीय बजारतर्फ निर्यात गर्न थालिएको हो ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको धनगढी, लहान, पडरिया, छपाराडी, गोलबजार, चोहर्वा, मिरचैया, घुर्मी, बन्दीपुर बस्तीपुरमा लाग्ने साप्ताहिक हाटबजारमा प्रतिमहिना करिब रु दुई करोड मूल्य बराबरको तरकारी बिक्री हुने गथ्र्यो ।

जिल्लामा तीन हजार ४६६ हेक्टर क्षेत्रफलमा तरकारीखेती हुँदै आएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत योगेन्द्र यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया