फिदिमको फोहर व्यवस्थापन गर्न ल्यान्डफिल्ड निर्माण

इनेप्लिज २०७२ भदौ ११ गते ९:२२ मा प्रकाशित

पाँचथर, ११ भदौ । सदरमुकाम फिदिम बजारको फोहर व्यवस्थापनका लागि ल्यान्डफिल्ड साइडको निर्माण भएपछि अहिले स्थानीयलाई सहज भएको छ ।

जिल्ला विकास समितिले रु आठ लाखको लगानीमा फोहर फाल्नका लागि खाल्डोको हालै निर्माण सम्पन्न गरेपछि फिदिमका स्थानीयलाई सहज भएको हो । यसअघि ल्यान्डफिल्ड नहुँदा मेची राजमार्गस्थित फिदिम ताप्लेजुङ सडकखण्डको फिदिम–५ को सडककै छेउमा लगेर फालिँदा त्यसआसपास दुर्गन्ध फैलने गरेको थियो ।

अहिले सदरमुकामदेखि झन्डै पाँच किमी टाढा रहेको थाक्ले भन्ने स्थानमा ल्यान्डफिल्डको साइड निर्माण सम्पन्न गरिएको हो । कम लागतमा ३० मिटर लम्बाइ २० मिटर चौडाइ र १.५ मिटर गहिराइ भएको ल्यान्डफिल्डको निर्माण गरिएको हो ।

हाल सदरमुकाम फिदिममा फोहर व्यवस्थापनका लागि भन्दै फिदिम नगरपालिकाले सदरमुकाममा सञ्चालित पसलबाट प्रतिपसल मासिकरुपमा रु ५० देखि २०० सम्म शुल्क लिँदै आएको छ ।

प्रतिक्रिया