बन्दबाट पूर्वमा ५० अर्बको नोक्सानी

इनेप्लिज २०७२ भदौ ११ गते ९:१४ मा प्रकाशित

पथरी (मोरङ), ११ भदौ । संयुक्त मधेसी मोर्चाको १६ दिन लामो बन्दका कारण सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रसहित पूर्वाञ्चलका विभिन्न जिल्लामा अहिलेसम्म करिब रु ५० अर्ब घाटा भएको छ ।

एकपछि अर्को राजनीतिक दल र गैरराजनीतिक समूहले बन्द आह्वान गर्दा उद्योगी, व्यापारी, मजदुर र सर्वसाधारण समस्यामा परेका छन् । उद्योग सङ्गठन मोरङका अनुसार बन्दका कारण अधिकांश उद्योगको उत्पादन ठप्प भएको छ ।

उद्योगमा राखिएको कच्चा पदार्थ पनि नष्ट भएर जान थालेको छ । उद्योग सङ्गठनका अध्यक्ष शिवशङ्कर अग्रवालका अनुसार राज्य पक्षबाट शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति नहुँदा उद्योग बन्दकर्ताको निसाना बन्दै जान थालेको छ ।

निरन्तरको बन्दले व्यापार व्यवसाय चौपट भएको अध्यक्ष अग्रवालको भनाइ छ । स्थानीय प्रशासनले सुरक्षाको प्रत्याभूति दिए उद्योग व्यवसाय खोल्न आफूहरु तयार रहेको उहाँले बताउनुभयो । करिडोर क्षेत्रका उद्योगले दैनिक रु १५ करोड नोक्सान बेहोर्न परेपनि राज्यले बन्द खोल्न चासो नदिएको अग्रवालले आरोप लगाउनुभयो ।

मजदुर र कर्मचारीको तलब, बिजुली, पर्यटन, व्यापार, उद्योग, होटल सबै क्षेत्रको हिसाब गर्ने हो भने पूर्वाञ्चलमा मात्रै दैनिक रु दुई अर्बभन्दा बढीको नोक्सानी भइरहेको पूर्वाञ्चल उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क दुलालको भनाइ छ । यो क्षेत्रका होटल समेत सुनसान छन् ।

दश दिनयता यातायात, शैक्षिक संस्था, उद्योग व्यवसायसहित सबै क्षेत्र ठप्प छ । यातायात बन्द हुँदा विराटनगरका सरकारी र निजी अस्पतालमा समेत बिरामीको चाप छैन । विराट व्यापार सङ्घका अध्यक्ष रामजीवन अग्रवाल विद्युत् कटौतीले आक्रान्त बनेका व्यवसायी बन्दको मारमा पर्दा थला परेको बताउनुहुन्छ ।

प्रतिक्रिया