राष्ट्रपतिलाई माओवादीको ज्ञापनपत्र

इनेप्लिज २०७२ भदौ ११ गते ८:३१ मा प्रकाशित

काठमाडौँ, ११ भदौ । नेकपा–माओवादीले सङ्घीय प्रदेशको सीमा निर्धारणपछि मुलुकका विभिन्न स्थानमा उत्पन्न असन्तुष्टिलाई राजनीतिक तवरले सम्बोधन गर्नुको साटो सेना परिचालन गरेकामा आपत्ति प्रकट गर्दै राष्ट्रपति डा रामवरण यादवलाई ज्ञापनपत्र बुझाएको छ ।

माओवादीका अध्यक्ष मोहन वैद्यसहितको टोलीले आज राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर संविधानको विषयमा प्रकट भएका जनताको भावनालाई राजनीतिक तवरबाटै समाधान गर्न आग्रह गरेको हो ।

ज्ञापनपत्र बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादीका सचिव देवप्रसाद गुरुङले अन्तरिम संविधान, २०६३ अनुसार प्राकृतिक विपद्को समयमा बाहेक राष्ट्रमाथि गम्भीर सङ्कट परेको स्थितिमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मात्रै सेना परिचालन गर्न पाउने भन्ने प्रावधान विपरीत भएकामा राष्ट्रपतिलाई ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको जानकारी दिनुभयो ।

ज्ञापनपत्र बुझ्दै राष्ट्रपति डा यादवले माओवादीले उठाएको विषयमा सरकारलाई ध्यानाकर्षण गराउने वचन दिनुभएको सचिव गुरुङले बताउनुभयो ।

माओवादीले सबै पक्षको सहमतिमा संविधान जारी गर्ने वातावरण बनाउन र राजनीतिक सङ्कटको समाधानका लागि सर्वपक्षीय राजनीतिक सम्मेलनको आयोजना गर्नसमेत आग्रह गरेको छ ।

प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण प्रक्रियामा सहभागी हुन माओवादीलाई बिहीबार नै पत्र पठाइसक्नुभएको छ । माओवादीले पनि वार्तामा बस्ने प्रतिबद्धता यसअघि नै सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया