जिल्ला विभाजनविरुद्ध लगातारको बन्दले बागलुङ ठप्प

इनेप्लिज २०७२ भदौ ११ गते ८:०९ मा प्रकाशित

Baglung_district_locationबागलुङ, ११ भदौ । सङ्घीय प्रदेशहरुको सीमाङ्कनमा बागलुङलाई विभाजन गर्ने प्रमुख दलहरुको निर्णयको विरोधमा सुरु भएको आन्दोलनले यहाँको जनजीवन प्रभावित बनेको छ ।

मङ्गलबारदेखि सुरु भएको अनिश्चितकालीन बागलुङ बन्दका कारण जनजीवन ठप्प बनेको हो । आदिवासी जनजातिहरुको दुई दिनको बन्दपछि सुरु भएको अर्को बन्दले अवस्था झन कष्टकर बन्दै गएको छ ।

विगत छ दिनदेखिको बन्दले जिल्लाभर नराम्रो प्रभाव पारेको छ । बजार, कलकारखाना, यातायात, विद्यालय, सङ्घसंस्था, कार्यालय सबै बन्द छन् । सरकारी कार्यालयहरु सुरक्षाकर्मीको पहरामा खुले पनि सेवाग्राही छैनन् । आयात ठप्प हुँदा बजारमा दैनिक उपभोग्य सामानको अभाव देखिन थालेको छ ।

अघिल्लो छ प्रदेशको प्रस्तावमै विभाजित बनेको बागलुङ पछिल्लो सीमाङ्कनमा झन् धेरै भू–भागसहित विभाजित बनेपछि जिल्लावासी आन्दोलित बनेका हुन् । सदरमुकामदेखि जिल्लाका प्रमुख व्यापारिक केन्द्र गलकोट, बुर्तिवाङ, कुश्मिसेरा, खरवाङलगायतका क्षेत्रमा बन्दले जनजीवन प्रभावित छ । गलकोटमा छुट्टै तवरबाट पनि अनिश्चितकालीन बन्दको घोषणा गरिएको छ ।

जिल्लास्थित राजनीतिक दलको नेतृत्वमा गठित आन्दोलन परिचालन समितिले आन्दोलन चर्काएको हो । बिहीबार हजारौँको सङ्ख्यामा रहेका महिलाले एकीकृत बागलुङको पक्षमा प्रदर्शन गरेका थिए । उनीहरुले रित्तो थाल र घरेलु भाँडाकुँडा बजाउँदै चर्को नाराबाजी गरेका थिए । बागलुङ विभाजन गर्ने निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहने आन्दोलन परिचालन समितिमा रहेका दलहरुले जनाएका छन् ।

जिल्लामा क्रियाशील सबै दलहरुले आन्दोलनमा समर्थन जनाएका छन् । बिनाआधार र कारण गरिएको जिल्ला टुक्र्याउने निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहने नेपाली काँग्रेस बागलुुङका कार्यबाहक सभापति जगदीशचन्द्र उपाध्यायले भन्नुभयो । उहाँले बागलुङलाई अखण्ड राखेर प्रदेश नं ४ मा समेट्नुपर्ने बताउनुभयो ।

प्रमुख दलका शीर्ष नेतृत्वले धोका दिएको उल्लेख गर्दै उहाँले जिल्ला नटुक्र्याउने आश्वासन दिएका नेताहरुले बागलुङमाथि खेलबाड गरेको आरोप लगाउनुभयो । अघिल्लो छ प्रदेशको प्रस्तावमा जिल्ला टुक्र्याउने निर्णयको चौतर्फी विरोध भएपछि प्रमुख दलका शीर्ष नेतृत्वले बागलुङ नटुक्र्याउने आश्वासन दिएका थिए । पछिल्लो सात प्रदेशको सीमाङ्कनमा बागलुङबारे कुनै निर्णय नभएपछि आन्दोलनमा जानुपरेको नेकपा (एमाले) का जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माले बताउनुभयो ।

उहाँले अघिल्लोमा भन्दा पछिल्लो सीमाङ्कनमा बागलुङको ठूलो भूभाग प्रदेश नं ५ मा गाभिएको उल्लेख गर्नुभयो । “कुनै सिद्धान्त र आधारबिना स्रोतसाधनमाथि हस्तक्षेप कायम गर्न बागलुङ टुक्र्याउन खोजिएको छ” अध्यक्ष शर्माले भन्नुभयो – “सीमित नेता र व्यक्तिको स्वार्थका कारण आज यो भइरहेको छ, हामीले यसलाई कदापि मान्दैनौँ ।” जिल्लाकै पहिचान बोकेको सम्पदा ढोरपाटन सिकार आरक्ष र जलाधार क्षेत्रमा पकड राख्ने स्वार्थले जिल्लालाई विभाजन गर्न खोजिएको आरोप दलहरुले लगाएका छन् ।

प्रतिक्रिया