आइतबारदेखि रुपन्देहीका शैक्षिक संस्था खुल्ने

इनेप्लिज २०७२ भदौ ११ गते ८:०७ मा प्रकाशित

लुम्बिनी (रुपन्देही), ११ भदौ । यस क्षेत्रमा साउन २८ गतेदेखि बन्द रहेका शैक्षिक संस्था आइतबारदेखि खुल्ने भएका छन् ।

आन्दोलनरत संयुक्त मधेसी मोर्चा तथा संयुक्त थरुहट सङ्घर्ष समितिले रुपन्देहीका शैक्षिक संस्था खुला गर्न आह्वान गरेपछि आइतबारदेखि रुपन्देहीका सम्पूर्ण विद्यालय खुल्ने भएका हुन् ।

समितिले आज एक विज्ञप्ति जारी गरी भदौ १३ गते आइतबारदेखि सबै शैक्षिक संस्था खुला गर्न आह्वान गर्दै सो क्रममा चल्ने शैक्षिक संस्थाका सवारीसाधनलाई समेत अवरोध नगर्ने जनाएको छ ।

संयुक्त मधेसी मोर्चाका रुपन्देही संयोजक महेन्द्र यादव र थरुहट संयुक्त सङ्घर्ष समिति रुपन्देही, कपिलवस्तु र नवलपरासीका संयोजक देवीप्रसाद चौधरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ – यसबीचमा सम्पूर्ण विद्यालयका सवारीसाधन आवागमन, अध्ययन अध्यापनमा आन्दोलनरत पक्षले कुनै अवरोध नगरी सहज आवतजावत गर्न सहयोग पुराउने र आम शैक्षिक प्रतिष्ठान सञ्चालक, अभिभावक, विद्यार्थी, शिक्षकमा जानकारी गराउँदै ढुक्क भएर विद्यालय सञ्चालन गर्न अनुरोध गर्दछौँ । विद्यालय बन्द रहँदा आन्दोलनमा विद्यार्थीको प्रयोगसमेत बढेको थियो ।

प्रतिक्रिया