संविधानसभामा परिमार्जित विधेयकमाथि छलफल जारी

इनेप्लिज २०७२ भदौ ११ गते ७:०९ मा प्रकाशित

काठमाडौँ, ११ भदौ । संविधानसभाको आजको बैठकमा ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि सभासद्ले आफ्नो भनाइ राख्नेक्रम जारी नै रह्यो ।

छलफलमा भाग लिँदै सभासद् प्रतीक्षा तिवारीले नयाँ संविधानमा महिलाको अधिकार सुनिश्चित हुनुपर्ने सुझाव दिनुभयो ।

सभासद् फरमुल्लाह मंसुरले नयाँ संविधानको मस्यौदालाई राजनीतिक दलले आफ्नो जित र हारका रुपमा लिन नहुनेमा जोड दिँदै संविधान सहमतिको दस्तावेजको रुपमा आउने विश्वास व्यक्त गर्नुभयो ।
सभासद् रामेश्वरप्रसाद ढुङ्गेलले नयाँ संविधान प्राप्त गर्ने जनताको अधिकारलाई अब कसैले रोक्न सक्दैन भन्नुभयो ।

त्यसैगरी, सभासद् आङ्दावा शेर्पाले प्रदेश निर्माणमा देखिएको असहमतिलाई चार दलका शीर्ष नेताले छलफलका माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभयो ।

सभासद् केशव बडालले टीकापुर घटनालाई आतङ्ककारी घटनाको सङ्ज्ञा दिँदै घटनाको छानबिन हुनुपर्छ भन्नुभयो ।

सभासद् रामहरि खतिवडाले मुलुक टुक्र्याउने अधिकार कसैलाई नभएको भन्दै प्रदेश निर्माणमा देखिएका असन्तुष्टिलाई सम्बोधन गर्न माग गर्नुभयो ।

सभासद् विक्रान्त चौधरीले संविधानको मस्यौदा सहमतिबाट आउने विश्वास व्यक्त गर्नुभयो ।

सभासद् ममता गिरीले नयाँ संविधानमा महिलाका हक अधिकार सुनिश्चित हुनुपर्छ भन्नुभयो ।

सभासद् विशाल भट्टराईले मतसीमा (थ्रेसहोल्ड) राख्न, प्रदेशको निर्माणको असहमति राखी भइराखेको आन्दोलनलाई सम्बोधन गर्न जोड दिनुभयो ।

सांसद पार्वता डिसी चौधरीले महिला, जनजाति, दलित, सीमान्तकृत वर्गका अधिकार सुनिश्चित गर्न ध्यान दिन आग्रह गर्नुभयो ।
सांसद अनुराधा थापामगरले संविधानमा स्वास्थ्य, शिक्षा र रोजगारीलाई निःशुल्क हुने व्यवस्था हुनुपर्छ भन्नुभयो ।

सभासद रवीन्द्रप्रताप शाहले टीकापुर घटनामा घाइते भएकालाई पनि एक तह बढुवा गर्न माग गर्दै सुरक्षा स्थितिलाई सरकारले आँकलन गर्न नसकेकाले टीकापुर घटना हुन पुगेको बताउनुभयो ।

सभासद् महेन्द्र यादवले संविधान आउँछ कि आउँदैन भन्ने अब आशङ्का अन्त्य भएको भन्दै मस्यौदाले गणतन्त्र, सङ्घीयतालाई सुनिश्चित गरेको र संविधान सहमतिको दस्तावेजका रुपमा आउने विश्वास व्यक्त गर्नुभयो ।

सभासद् राजेन्द्रकुमार केसीले लोकतान्त्रिक मूल्य मान्यताअनुरुप संविधानसभामा आदिवासी जनताको अधिकारका बारेमा छलफल हुनुपर्नेमा जोड दिँदै सर्वप्रथम म नेपाली हुँ भन्ने भावना दिनुपर्छ भन्नुभयो

सभासद् अमृतकुमार बोहराले लोकतन्त्रमा मूल्यमा आधारित संविधानको मस्यौदा आउनु राम्रो पक्ष भएको चर्चा गर्दै विविधता रहेको देशमा जातीय प्रदेश हुन नसक्ने बताउनुभयो ।

सभासद् गुरुप्रसाद बुर्लाकाटीले संविधान साझा दस्तावेजका रुपमा आउने हुँदा मेरो दलले भनेका सबै कुरा संविधानमा पर्नुपर्छ भन्ने हठ त्याग्नुपर्छ भन्नुभयो ।

सभासद् कमला विश्वकर्माले दलित अधिकारका क्षेत्रमा मस्यौदा कमजोर रुपमा प्रस्तुत भएको र अधिकार दिएजस्तो गर्ने तर ढोका बन्द गर्ने काम गर्नु भएन भन्नुभयो ।

सभासद् सुरेन्द्र यादवले संविधान अपरिवर्तनीय नहुने भन्दै संविधानमा आफ्ना कुरा परेन भनेर आन्दोलन गर्नुृभन्दा छलफलका माध्यमबाट समस्याको हल खोज्नुपर्छ भन्नुभयो ।

प्रतिक्रिया