पोखरा, ११ भदौ । ‘बन्दलाई सदाको लागि बन्द गरौँ, शान्ति र ‘सद्भाव कायम गरौँ’ भन्ने मूल नाराका साथ आज बिहान यहाँ शान्ति तथा सद्भाव र्यालीको आयोजना गरियो ।
पोखरा उद्योग वाणिज्य सङ्घको आह्वानमा भएको उक्त र्यालीमा विभिन्न राजनीतिक दल, उद्यमी, व्यापारी, आमा समूह, क्लब र पर्यटन व्यवसायीको सहभागिता रहेको थियो ।
पोखराको गैरापाटनबाट सुरु भएको शान्ति र्याली महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, न्यूरोड हुँदै चिप्लेढुङ्गास्थित मानवअधिकार चोकमा पुगेर टुङ्गिएको थियो ।
र्यालीका सहभागीले पोखरा सधैँ खुल्ला छ, बन्दको विकल्प खोजौँ, विद्यार्थी र विद्यालय शान्ति क्षेत्र घोषणा गरौँ, गरी खान देउ जस्ता प्लेकार्ड बोकेका थिए ।
र्यालीपछि आयोजित सभामा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष बिन्दुकुमार थापाले ९९ प्रतिशत जनताले बन्द, हडताल नचाहेको बताउँदै यहाँ १ प्रतिशत मान्छेले ९९ प्रतिशत मान्छेलाई दबाबमा पारेर घुमाइरहेको बताउनुभयो ।
उहाँले अब उप्रान्त जुनसुकै समूहले बन्द, हडताल गरेमा हामी सबै मिलेर अवज्ञा गर्न एकजुट होऔँ भन्नुभयो ।
प्रतिक्रिया