शनिबार, मंसिर २० २०७७
काठमाडौं १३:५०
वासिङटन डिसी 03:05

परिमार्जित विधेयकमा छलफल जारी

इनेप्लिज २०७२ भदौ ११ गते ४:४४ मा प्रकाशित

काठमाडौँ, ११ भदौ । संविधानसभाको आजको १२३ औँ बैठकमा नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफल जारी छ ।

आजको छलफलमा भाग दिँदै पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले टीकापुर घटना निन्दनीय, बर्बर र नृशंस भएको भन्दै अहिलेको कठिन अवस्थामा बुद्ध मन लिएर अगाडि बढ्न सके मात्र शान्तिपूर्ण समाजको परिकल्पना गर्न सकिने बताउनुभयो ।

उहाँले मुलुकमा स्थापित लोकतान्त्रिक गणतन्त्रलाई पल्टाउन सामन्तवादी शक्ति सल्बलाएको बताउँदै यथाशीघ्र संविधान जारी गर्न सबै दल एकजुट हुनुपर्छ भन्नुभयो ।

राजतन्त्र कुनै हालतमा नफर्कने, संविधानमा महिला, मुस्लिम, थारू, श्रमिक सबैको अधिकार सुनिश्चित गर्नुपर्ने, बागलुङ र रुकुमको समस्या समाधानमा दल एकमत हुनुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री खनालले संविधान सहमतिको दस्तावेज रहेको उल्लेख गर्नुभयो ।

सभासद् प्रकाशशरण महतले टीकापुर घटना अमानवीय, क्रूर र निन्दनीय रहेको भन्दै सबै जातजातिको अलगअलग राज्य हुन नसक्ने बताउनुभयो ।

सभासद् जनार्दन शर्माले टीकापुरको घटना निन्दनीय भएको बताउँदै जनतालाई कसैको हठमा नलाग्न आग्रह गर्नुका साथ कर्णालीको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

सभासद् दिलनाथ गिरीले नेपाली जनताले अपनत्व गर्न सक्ने प्रकृतिको संविधान जारी हुनुपर्ने, सभासद् जनकराज चौधरीले दलित र महिला, मुस्लिम पिछडिएको वर्ग सबैको हित हुने संविधान जारी हुनुपर्ने र सभासद् राजेन्द्रसिंह श्रेष्ठले वंशजका हिंसाले नागरिकता पाउनुपर्ने माग गर्नुभयो ।

प्रतिक्रिया