शिक्षक, विद्यार्थी नै तीर्थयात्रातिर लागेपछि डोल्पाका सम्पूर्ण विद्यालयको पठनपाठन प्रभावित

इनेप्लिज २०७२ भदौ ११ गते ४:२९ मा प्रकाशित

डोल्पा, ११ भदौ । हिन्दू धर्मावलम्बीको विशेष पर्व साउन पूर्णिमाको अवसर पारेर धार्मिक कार्यका लागि तीर्थयात्रातिर लाग्ने शिक्षक विद्यार्थीको घुइँचो बढेको छ ।

यस वर्ष भदौ १२ गते परेको पूर्णिमाको अवसरमा आफ्ना कुलाम्य देवीदेवता र आफूले पुस्तौँदेखि आस्था राख्दै आएका देवतासँगै तीर्थयात्रातिर लागेकाले डोल्पाका सबैजसो विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

साउन पूर्णिमा अथवा जनै पूर्णिमाको दुई–तीन दिनअगाडि नै शिक्षक र विद्यार्थी तीर्थव्रतका लागि लागेपछि डोल्पाका सबैजसो विद्यालयमा शिक्षक विद्यार्थीको उपस्थिति न्यून भई पठनपाठन प्रभावित भएको त्रिपुरा माध्यमिक विद्यालयका प्रधानाध्यापक हेमराज हमालले बताउनुभयो ।

डोल्पाली धेरैजसो धर्मकर्ममा विश्वास राख्ने र साउन पूर्णिमा विशेष पर्व भएकाले पनि यस समयमा तीर्थयात्रा गरे पढाइलेखाइमा सफलता प्राप्त हुनुका साथै आँटेको काम सफल हुने विश्वास रहेको उहाँले बताउनुभयो ।

डोल्पाका मध्य भेगमा पर्ने कर्णाली प्रावि परिला, महादेव प्रावि रल्ली, विद्योदय प्रावि करेलीकाँडा, महाकवि प्रावि रल्ली लगायतका विद्यालय आजदेखि बन्द भएका छन् भने त्रिपुरा माध्यमिक विद्यालय त्रिपुराकोट, जनप्रभा उमावि लिकु, त्रिपुरा मावि मुद्दु लगायतका डोल्पाका सबैजसो विद्यालयमा शिक्षक र विद्यार्थी सङख्यामा आधाभन्दा धेरै कमी आएको छ ।

प्रतिक्रिया