गएरातिको पहिरोमा परी पाँचको मृत्यु भएको पुष्टि

इनेप्लिज २०७२ भदौ ११ गते ४:१० मा प्रकाशित

नुवाकोट, ११ भदौ । नुवाकोटको गोस्र्याङ–२ काभ्रेमा गएराति पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ । नजिकैको ढुङ्गाखानी बग्दा दुईवटा घर हराएको छ । ती घरमा कति जना थिए अझै खुल्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले पाँचको मृत्यु भएको पुष्टि गरे पनि सनाखत हुन नसकेको जनाएको छ । स्थानीयवासीले दिएको जानकारीअनुसार पाँचको शव पुरिएको अवस्थामा देखिएको छ । बिहान सबेरै प्रहरी घटनास्थलमा पुगे पनि उद्धारमा कठिनाइ भएको छ । पहिरोबाट छजनालाई जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो ।

उद्धारका लागि प्रहरीको थप टोली घटनास्थलतर्फ प्रस्थान गरेको र घटनास्थल पुग्न अब चार घन्टा लाग्ने उहाँले बताउनुभयो । स्थानीयवासी राजाराम अधिकारीका अनुसार पहिरोमा अझै मानिस जीवितै रहेको अनुमान गरिएको छ । भौतिक क्षतिको अझै अनुमान गर्न सकिएको छैन । पहिरो बगिरहेकाले उद्धारमा कठिनाइ भएको र मृत्यु हुनेको शव निकाल्ने प्रयास भइरहेको छ ।

यसैबीच नुवाकोटको सामरी–७ मा पनि पहिरो गएको छ । घर बगाएको जानकारीपछि प्रहरी घटनास्थलतर्फ हिँडे पनि थप विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया