बाहिरबाट धुलो दूध आयात नहुने

इनेप्लिज २०७२ भदौ १० गते १५:२८ मा प्रकाशित

skimmed-milk-powder.pngकाठमाडौँ, १० भदौ । ‘मिल्क होलिडे’ हुन नदिन दूध र दुग्धपदार्थको प्रयोगमा वृद्धि गर्नुपर्नेमा विज्ञले जोड दिएका छन् ।

नेपाल कृषि पत्रकार प्रतिष्ठान(जोना) ले आज यहाँ आयोजना गरेको ‘नेपालमा दुग्धपदार्थको अवसर र चुनौती’ विषयको अन्तक्र्रियामा कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले
नेपालको दुग्धजन्य वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गराउन सक्ने खालको गुणस्तरीय बनाउनुपर्ने बताउँदै भन्नुभयो, “नेपालमा नै धुलो दूध पर्याप्त उत्पादन हुने भएकाले बाहिरबाट आयात नगर्ने निर्णय गरिसकेका छौँ ।”

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले ‘मिल्क होलिडे’ को समस्या समाधान गर्न भइरहेका दुग्ध उद्योगलाई तत्काल पुनःसञ्चालन गर्ने र अहिले नसकिए भारततर्फ निर्यात गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

दुग्ध विकास संस्थान(डिडिसी)का प्रमुख गङ्गा तिमल्सिनाले पाउडर दूधको कारखाना निर्माण गर्नेतिर सरकारले योजना बनाउनुपर्नेमा जोड दिँदै दसैँलाई ध्यानमा राख्दै डिडिसीले घ्यूको मूल्य प्रतिलि रु ७२० कायम गरेको जानकारी दिनुभयो ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले गत वैशाख १२ पछि बजारमा दूधको अभाव देखिएको बताउँदै बारम्बारको मूल्यवृद्धिले उपभोक्ताले दूध तथा दुग्धजन्य पदार्थको उपभोग गर्न नपाएको गुनासो गर्नुभयो ।

कार्यक्रममा केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष नारायण देवकोटा, डेरी उद्योग सङ्घका अध्यक्ष प्रदीप महर्जन र नेपाल डेरी एसोसिएसनका अध्यक्ष सुमित केडियाले ‘मिल्क होलिडे’ कायम रहिरह्यो भने बिदेसिने युवाको सङ्ख्या अझ बढ्ने बताउँदै सामाजिक तथा आर्थिक रुपान्तरणका लागि पनि सो व्यवसायलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

नेपालमा अहिले दैनिक १७ लाख मेट्रिक टन दूध उत्पादन भइरहेको छ । अहिले रु डेढ अर्बको घ्यू बिक्री हुन नसकेको पनि बताइएको छ ।

प्रतिक्रिया