अपर्याप्त बजेटले इलाम, दमक र फिदिम बसपार्क निर्माणमा ढिलाइ

इनेप्लिज २०७२ भदौ १० गते १२:३३ मा प्रकाशित

इलाम, १० भदौ । अपर्याप्त बजेटका कारण इलाम नगरपालिका–३ स्थित शेरामा रहेको बसपार्क निर्माण कार्यमा ढिलाइ भएको छ ।

करिब रु तीन करोडको लागतमा निर्माण हुनेगरी प्रस्ताव गरिए पनि बर्सेनि विनियोजित बजेट न्यून आएकाले बसपार्क निर्माण कार्य सुस्ताएको हो ।

स्थानीय समाजसेवीले करिब १४ रोपनी जमिन दान दिएपछि चार वर्ष अगाडि निर्माण सुरु भएको इलामको बसपार्क निर्माण कार्य हालसम्म ६० प्रतिशतमात्र काम सम्पन्न भएको छ ।

अहिलेसम्म बसपार्कको काममा नाली निर्माण, पर्खाल लगाउनेजस्ता सामान्य काम गर्न रु एक करोड ८४ लाख ९६ हजार खर्च भइसकेको छ भने सडकको स्तरोन्नति, टहरा, शौचालय, टिकट काउन्टरलगायतका निर्माण कार्य अझै हुन सकेको छैन । पञ्चवर्षीय योजनाको उक्त बसपार्क निर्माणका लागि अझै रु दुई करोडभन्दा बढी खर्च लाग्ने सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका प्रमुख ललितप्रसाद नेपालले जानकारी दिनुभयो ।

बसपार्क निर्माणमा ढिलाइ हुँदा बढ्दो सहरीकरण तथा सवारीका साधनलाई पार्किङ गर्नसमेत समस्या हुन थालेको छ । इलाम बजार क्षेत्रमा सानो र साँघुरो सडकका कारण यात्रु तथा विद्यार्थी वर्गलाइसमेत ज्यान जोगाएर हिँड्न मुस्किल परेको छ ।

समयमा नै बसपार्क निर्माण नभए निर्माण भएका संरचनासमेत काम नदिने अवस्थामा पुग्ने स्थानीय उपभोक्ताले बताएका छन् । बसपार्क निर्माण चरणमा ठेकेदारबाट ढिलाइ भएकाले दोस्रो चरणको काम स्थानीय उपभोक्तामार्फत कम्पाउण्ड पर्खाल बनाउने कार्य गरिएको थियो । इलाम बसपार्क निर्माणका लागि चालु आव २०७२/०७३ का लागि रु ६० लाख विनियोजन भएको डिभिजन प्रमुख नेपालले जानकारी दिनुभयो ।

यस्तै, झापाको दमक नगरपालिकामा रहेको दमक बसपार्कको कार्य तीन वर्षदेखि निर्माण चरणमा छ । रु चार करोडको योजना भए पनि अधुरो बजेटकै कारण अहिलेसम्म आधा काममात्र भएको भवन छ । हालसम्म रु ९० लाख बजेट विनियोजन भएकोमा करिब २३ प्रतिशतमात्र खर्च भएको उहाँले बताउनुभयो । चालु आव २०७२/७३ का लागि रु ६० लाख विनियोजन भएको जनाइएको छ ।

यस्तै, पाँचथरको फिदिम नगरपालिकामा निर्माणाधीन फिदिम बसपार्क सुधारको कार्य सुरु भइरहेको छ । रु चार करोेडको योजना रहेकामा गत आवमा आएको रु ४१ लाखमध्ये रु १९ लाख ४१ हजारको मात्र कार्य सम्पन्न भएको छ । टर्मिनल भवनसहितको बसपार्क निर्माण गरिनुपर्ने भएपनि हालसम्म ४७ दशमलव ३६ प्रतिशतमात्र खर्च भएको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका प्रमुख नेपालले बताउनुभयो ।

कतिपय योजनामा ठेकेदारको लापर्बाही, ढिलासुस्ती तथा बजेट कम आउनाले पनि कुनै पनि विकास निर्माणका काम तोकिएको समयमा हुन नसक्दा निर्माणाधीन भौतिक संरचना कामै नलाग्ने गरी बिग्रने अवस्थामा पनि पुग्ने गरेको पाइएको छ ।

प्रतिक्रिया