नेत्री मङ्गलादेवी सिंहको शालिकमा माल्यार्पण

इनेप्लिज २०७२ भदौ १० गते ४:४६ मा प्रकाशित

Rss_Images_1440648877681_AR-KTM-DPM-1काठमाडौँ, १० भदौ । नेपालको प्रजातान्त्रिक आन्दोलनकी योद्वा नेत्री स्वर्गीय मङ्गलादेवी सिंहको आज यहाँ आयोजित कार्यक्रममा सम्झना गरिएको छ ।

नेत्री सिंहको २०औँ स्मृति दिवसको अवसर पारेर आज बिहान शोभाभगवतीमा रहेको स्व सिंहको शालिकमा उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले माल्यार्पण गर्नुभयो ।
नेपाल महिला सङ्घ काठमाडौँको आयोजनामा भएको सो कार्यक्रममा उपप्रधानमन्त्री सिंहले नेत्री सिंहले जीवनकालमा निर्वाह गर्नुभएको प्रजातान्त्रिक आन्दोलन र पुनः स्थापनामा खेलेकोे भूमिकाबारे चर्चा गर्नुभयो ।

उहाँले भन्नुभयो—“महिलालाई सङ्गठित गर्नुपर्छ नेपाल दुई पाङ्ग्रामा अडिएको छ एउटा महिला अर्को पुरुष त्यसैले महिलालाई पुरुषसरह हकअधिकार दिलाउनका लागि विसं २००४ मा उहाँले नेपाल महिला सङ्घको स्थापना गर्नुभएको हो ।”

सो अवसरमा उपप्रधानमन्त्री सिंहले वार्ताकै माध्यमबाट संविधान निर्माण गरिने भन्दै सबै दललाई वार्तामा आउन आग्रह गर्नुभयो । उहाँले बढीभन्दा बढी दलको सहकार्यमा संविधान निर्माण गरिने छ भन्नुभयो ।

नेपाली काँग्रेसका महामन्त्रीसमेत रहनुभएका सिंहले पार्टीको महाधिवेशनभन्दा संविधानलाई बढी प्राथमिकता दिएको भन्दै महाधिवेशनका बारेमा केन्द्रीय कार्यसमितिको बैठक बसेर अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

सङ्घकी अध्यक्ष विष्णुदेवी पुडासैनीले नेपालमा महिलाको अधिकारका लागि सबैभन्दा पहिले सङ्गठित आवाज बुलन्द गर्दै नारी हक हित तथा प्रजातन्त्र प्राप्तिका निम्ती अनवरत सङ्घर्ष गर्ने पहिलो महिला नेत्री स्व सिंह भएको बताउनुभयो ।

स्व सिंहले नेपाली महिलालाई जहानियाँ राणाशासन र निरङ्कुश पञ्चायती व्यवस्थाको विरुद्ध सम्पूर्ण महिलालाई गोेलबन्द गरी आधा शताब्दी लामो राजनीतिक यात्रामा अनेकौँ क्रान्ति तथा आन्दोलन गर्नुभएको थियो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका नायक एवम् लौहपुरुष गणेशमान सिंहको धर्मपत्नीसमेत रहनुभएकी मङ्गलादेवीले महिला सङ्घको स्थापना गरेर महिलालाई मतदानको अधिकारसमेत दिलाउनुभएको थियो । विसं १९८२ मङ्सिर २५ गते जन्मनुभएकी सिंहको २०५३ भदौ १० गते निधन भएको थियो ।

प्रतिक्रिया