करिब तीन हजार अपाङ्गता भएकालाई परिचयपत्र वितरण

इनेप्लिज २०७२ भदौ १० गते २:४१ मा प्रकाशित

apangaम्याग्दी, १० भदौ । महिला तथा बालबालिका कार्यालयले जिल्लामा असार मसान्तसम्म दुई हजार ८३८ अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको जनाएको छ ।

एक सय ८१ लाई ‘क’, नौ सय २२ लाई ‘ख’, सात सय ९१ लाई ‘ग’ र आठ सय ३२ लाई ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र वितरण गरिएको सहायक महिला विकास निरीक्षक बिन्दु शर्माले जानकारी दिनुभयो । त्यस्तै, एक सय १३ लाई वर्ग नछुट्याइएको परिचयपत्रसमेत वितरण गरिएको छ ।

उहाँका अनुसार आव २०७१÷७२ मा मात्रै एक सय ६५ अपाङ्गता भएका लाई परिचयपत्र वितरण गरिएको छ । अपाङ्गता भएकालाई राज्यले उपलब्ध गराएको सेवासुविधा प्राप्त गर्नका लागि परिचयपत्र अनिवार्य बनाएपछि परिचयपत्र लिनेको सङ्ख्या बढ्दै गएको छ ।

कार्यालयले सरोकारवाला निकायको समन्वयमा विभिन्न घुम्ती शिविरमार्फत अपाङ्गता भएकालाई परिचयपत्र वितरण गर्दै आएको महिला विकास अधिकृत निर्मला शर्माले बताउनुभयो । अपाङ्ग सङ्घ म्याग्दीको तथ्याङ्कअनुसार जिल्लामा ६ हजार दुई सय अपाङ्गता भएका व्यक्ति रहेका छन् ।

प्रतिक्रिया