प्रहरी र आन्दोलनकारीबीच झडप

इनेप्लिज २०७२ भदौ ९ गते १५:१७ मा प्रकाशित

गौशाला, ९ भदौ । विगत १२ दिनदेखि अनिश्चितकालीन मधेस बन्द गर्दै आन्दोलनमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज दिउँसो महोतरीको नापी कार्यालयको गाडीमा आगजनी गरेका छन् ।

जलेश्वर नगरपालिका–५ स्थित नापी कार्यालयमा रहेको गाडीमा करिब ५० जनाको सङ्ख्यामा गएका आन्दोलनकारीले पेट्रोल छर्केर आगो लगाएका हुन् । आगजनी लगत्तै प्रहरीले कार्यालयको कर्मचारीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।

यसैबीच, आजै दिउँसो जिल्ला सदरमुकाम जलेश्वरको दुर्गाचौकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ । दुर्गाचौकमा सुरक्षार्थ खटिएका प्रहरीमाथि आन्दोलनकारीले ढुङ्गा प्रहार गरेपछि झडप भएको हो ।

अहिले जलेश्वरको प्रत्येक चोकमा बाक्लो रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । बन्दका कारण यहाँका बजार, पसल, उद्योग, कलकारखाना ठप्प छन् भने लामो तथा छोटो दूरीका कुनै पनि सवारी साधन चलेका छैनन् ।

प्रतिक्रिया