बन्दका कारण सरकारी कार्यालय सुनसान, चट्याङ लागेर दुईको मृत्यु

इनेप्लिज २०७२ भदौ ९ गते १२:२९ मा प्रकाशित

इनरुवा, ९ भदौ । लगातारको बन्दका कारण सुनसरी सदरमुकाम इनरुवास्थित सरकारी कार्यालय सुनसान बनेका छन् ।

बन्दले केही कर्मचारी कार्यालयसम्म पुग्न नसकेका र केही कर्मचारी आएपनि सेवाग्राही नआएका कारण सरकारी कार्यालय सुनसान देखिएका हुन् ।

जिल्ला विकास समितिको कार्यालयमा ५२ जना कर्मचारीमध्ये बुधबार ४० जनामात्र कर्मचारी कार्यालयमा भेटिएका र सेवाग्राही एकजना पनि नआएका जिल्ला विकास समिति सुनसरीका सूचना अधिकृत अरुणकुमार मेहताले बताउनुभयो ।

बन्दका कारण आफूहरुलाई समेत समस्या भएको र ग्रामीण क्षेत्रमा समेत बन्दको प्रभाव परेकाले सेवाग्राही नआएको अधिकृत मेहताको भनाइ रहेको छ ।

लगातार १२ दिनदेखि स्वायत्त मधेस प्रदेशको माग गर्दै आन्दोलनमा रहेका मधेसी मोर्चा र थारु कल्याणकारणी सभाले गरेको बन्दले सदरमुकाम इनरुवास्थित मालपोत कार्यालय, जिल्ला शिक्षा कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायतका कार्यालयमा प्रभाव परेको हो ।

चट्याङ लागेर दुई जनाको मृत्यु

सुनसरीको कप्तानगञ्ज गाविसमा चट्याङ लागेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

आज बिहान चट्याङ लागेर कप्तानगञ्ज–६ की ५५ वर्षीया मोहरीदेवी सरदार र उहाँकै नातिनी सात वर्षीया चाँदनी सरदारको मृत्यु भएको हो ।

बिहानको खाना बनाउने क्रममा घरमै रहेको अवस्थामा चट्याङ लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

सो घटनामा मोहरीका पाँच वर्षका नाति सञ्जीवकुमार सरदार घाइते भएको सुनसरीका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।

डुबेर एकको मृत्यु

सुनसरीको नरसिंह–९ मा पानीमा डुबेको अवस्थामा बुधबार एक पुरुषको शव फेला परेको छ ।

पश्चिम कुशाहा–८ बस्ने वर्ष ४५ का दीलिपकुमार उरावको शव नालाको पानीमा डुबेको अवस्थामा फेला परेको हो ।

मृत्युको कारण खुल्न नसके पनि शव पानीमा केही दिनअघि डुबेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान जारी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया