काठमाडौँ, ९ भदौ । नेपाल कम्युनिस्ट पार्टी–माओवादीका अध्यक्ष मोहन वैद्यले संविधानसभा बाहिर रहेका र असन्तुष्ट सबै जनताको भावना समेटिएको संविधान बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
दीपेन्द्र रोकायाले लेख्नुभएको ‘नाफाको जीवन’ नामक पुस्तकको आज यहाँ विमोचन गर्दै उहाँले दशवर्षे सशस्त्र सङ्घर्षमा जनताले परिवर्तन ल्याउन गरेको त्याग र बलिदानको कदर हुन नसकेको बताउनुभयो ।
अध्यक्ष वैद्यले जनताले आशा र अपेक्षा गरेको आमूल परिवर्तन अझै हासिल गर्न नसकिएको चर्चा गर्नुभयो ।
लेखक एवम् पत्रकार दीपेन्द्र रोकायाले आफूले विगतको सशस्त्र सङ्घर्षको समयमा समाचार सङ्कलन गर्दा टिपिएका विषयवस्तुको आधारमा पुस्तक जन्मेको बताउनुभयो ।
प्रगतिशील लेखक सङ्घका अध्यक्ष अमर गिरी र साहित्यकार डा नवराज लम्सालले पनि पुस्तकका बारेमा बोल्नुभएको थियो ।
प्रतिक्रिया