मध्यपश्चिमका तेह्रवटा नयाँ नगरपालिका दमकलविहीन

इनेप्लिज २०७२ भदौ ९ गते ४:०८ मा प्रकाशित

damkalखजुरा (बाँके), ९ भदौ । मध्यपश्चिमाञ्चलका १३ वटा नयाँ नगरपालिका दमकलविहीन भएको पाइएको छ । नौ जिल्लामा २०७१ वैशाख २५ मा र मङ्सिर १६ मा थपिएका नयाँ नगरपालिकामा दमकलको व्यवस्था हुन सकेको छैन ।

नयाँ १३ वटै नगरपालिकामा दमकल व्यवस्था नहुँदा सामान्य आगलागीसमेत नियन्त्रणमा लिन समस्या भइरहेको छ । मध्यपश्चिमाञ्चल क्षेत्रको बाँकेमा कोहलपुर, सल्यानमा शारदा, बर्दियामा राजापुर, जुम्लामा चन्दननाथ, प्यूठानमा प्यूठान खलङ्गा र दैलेखमा दुल्लु नगरपालिका घोषणा भएको थियो ।

मङ्सिर १६ मा ३४ नगरपालिका विस्तार हुँदा बर्दियामा सानोश्री र बाँसगढी, सुर्खेतमा भेरीगङ्गा, रुकुममा मुसिकोट, दाङमा लमही तथा त्रिपुरा र रोल्पामा लिवाङ नगरपालिका विस्तार गरिएको थियो । कोहलपुर नगरपालिकाका कार्यकारी अधिकृत गोविन्दप्रसाद पाण्डेले नगरपालिकामा दमकलको आवश्यकता खड्किएको र यो आर्थिक वर्षका लागि दमकल माग गरिएको जानकारी दिनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकामा रहेका तीन दमकलमध्ये एउटा पूर्ण बिग्रिएको अवस्थामा छ भने अर्को आंशिक बिग्रिएको छ । एउटा दमकलको भरमा जिल्लाभर काम चलाइँदै आएको छ । छिमेकी जिल्ला बर्दियामा चारवटा नगरपालिका विस्तार भए पनि एक मात्र दमकलको भरमा काम चलेको छ । गुलरिया नगरपालिकासँग एउटा मात्र दमकल छ । दमकलको व्यवस्था नहुँदा यी नगरपालिकामा अग्नि नियन्त्रण समूह गठन हुन सकेको छैन ।

प्रतिक्रिया