अलपत्र परेका तीन सय मजदुरलाई खाना खुवाउन सुरु

इनेप्लिज २०७२ भदौ ८ गते ४:४० मा प्रकाशित

पथरी (मोरङ), ८ भदौ । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण विराटनगर बसर्पाकमा अलपत्र परेका ३०० मजदुरलाई मजदुर सङ्घ–सङ्गठनले सोमबार साँझदेखि खाना खुवाउन सुरु गरेको छ ।

नेपालका विभिन्न ठाउँबाट गाडी लिएर आएपछि गन्तव्यतर्फ फर्कन नपाएर अलपत्र परेका यातायात मजदुरलाई पूर्व नेपाल यातायात व्यवसायी सङ्घ मोरङ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन मोरङले खाना खुवाउन थालेको जिफन्टका कोसी अञ्चल इन्चार्ज किशोर धमलाले बताउनुभयो ।

मजदुरलाई खाना खुवाउन उद्योग सङ्गठन मोरङ, मोरङ व्यापार सङ्घ, नेपाल रात्रि तथा दिवा यातायात सङ्घ विराटनगर, नेपाल ट्रेड युनियन महासङ्घ जिफन्ट, कञ्चनजङ्घा पार्टी प्यालेसलगायतका दुई दर्जन बढी सङ्घ–सङ्गठनले समेत खाना खुवाउन सहयोग गरेको धमलाले जानकारी दिनुभयो ।

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन मोरङका सचिव कृष्ण घिमिरेका अनुसार विराटनगर बसपार्कमा अलपत्र परेका ३०० मजदुरलाई बन्द नखुलुञ्जेलसम्मका लागि खाना खुवाउने व्यवस्था गरिएको हो ।

प्रतिक्रिया