व्यावसायिक तरकारीखेतीबाट अढाइ लाख आम्दानी

इनेप्लिज २०७२ भदौ ७ गते ११:५५ मा प्रकाशित

tarkariइलाम, ७ भदौ । बरबोटे–१ तोरीबारीका नारायण पौडेल आजभोलि तरकारी खेतीमा व्यस्त हुनुहुन्छ । विभिन्न पेसा र व्यवसाय छाडेर व्यावसायिक तरकारीखेतीमा लाग्नुभएका पौडेलले सबै खर्च कटाएर गएको वर्ष अढाइ लाख रुपैयाँ आम्दानी गर्नुभयो ।

उहाँले १० रोपनी बारीमा काँक्रा, सिमी, बोडी, गोलभेँडा, अकबरे खोर्सानी लगाउनुभएको छ । क्षेत्रीय कृषि तालिम केन्द्र झुम्का सुनसरीबाट छ वर्षअघि ५१ दिने ग्रामीण कृषि प्राविधिक तालिम लिएर उहाँले व्यावसायिक तरकारीखेती थाल्नुभएको हो ।

तरकारी खेतीमा आवश्यक मलजलका लागि उहाँले गँड्यौलासमेत पाल्नुभएको छ । बजारमा काँक्रा र गोलभेँडा प्रतिकिलो रु ४०/४०, सिमी रु ६०, बोडी रु ८०, अकबरे खुर्सानी २०० देखि ३०० रुपैयाँमा बिक्री गर्ने गरेको पौडेलले बताउनुभयो ।

घरेलु तथा साना उद्योग विकास समितिमा ‘पौडेल कृषि फार्म’ दर्ता गरी व्यावसायिक तरकारी खेती थाल्नुभएको हो । उहाँले यस वर्षदेखि बरबोटेमा कृषि बीज भण्डारसमेत सञ्चालनमा ल्याउनुभएको छ ।

उहाँले उत्पादित तरकारी मोटरसाइकलमा राखी इलाम र स्थानीय बजारमा ल्याएर बिक्री गर्नुहुन्छ । तरकारी बेचेरै उहाँले ढुवानीका लागि मोटरसाइकल खरिद गर्नुभएको हो ।

व्यावसायिक तरकारीखेती गर्न चाहने आफूजस्तै धेरै युवालाई खेती गर्ने सीप, मलखादबारे उहाँ तालिमसमेत दिनुहुन्छ । उहाँले फाकफोक, माइपोखरी, सुम्बेक, नयाँबजार, सोयाङ गाविसमा गएर तरकारी खेतीमा संलग्न युवायुवतीलाई कृषिसम्बन्धी तालिमसमेत दिइसक्नुभएको छ ।

चार दाजुभाइमध्येका माइला नारायणबाहेक तीन दाजुभाइ जागिरमा हुनुहुन्छ । नारायण भन्नुहुन्छ – “घरमा बसेर तरकारीखेती गर्दा जागिरभन्दा दोब्बर आम्दानी हुन्छ ।”

प्राङ्गारिक खेतीबाट उत्पादित तरकारी जुनसुकै ठाउँमा बढी मूल्यमा बिक्री हुने, उपभोक्ता तथा बिक्रेता दुवैलाई फाइदा हुने र त्यस्तो तरकारी जुनसुकै बेला पनि सहजै बिक्री हुने उहाँ बताउनुहुन्छ ।

आठ वर्षअघि गाउँकै बजारमा किराना पसल चलाउँदा नगद रु चार लाख डुबेको विगत सम्झदै उहाँ भन्नुहुन्छ – “पसल गर्दा डुबेको पैसा पनि असुल भएको छ ।” व्यावसायिक तरकारीखेती र कृषिमा भन्दा अन्य क्षेत्रबाट फाइदा नहुने भन्दै विदेश जानुभन्दा गाउँमै तरकारी खेती गर्न उहाँ युवालाई सल्लाह दिनुहुन्छ ।

व्यापारबाट डुबेको पैसा जागिरबाट कमाउने उद्देश्यले उहाँ निजी विद्यालयको पुस्तक प्रकाशन गर्ने संस्था मेघा पब्लिकेशनको मेची अञ्चलको बजार व्यवस्थापकसमेत बन्नुभयो । तर त्यसबाटसमेत राम्रो आम्दानी नभएपछि उहाँ व्यावसायिक तरकारी खेतीमा लागेको बताउनुहुन्छ ।

जिल्ला कृषि विकास कार्यालयले व्यावसायिक बन्ने युवाका लागि गएको वर्ष युवा स्वरोजगारमार्फत रु २४ लाख अनुदान उपलब्ध गराएको थियो । व्यावसायिक तरकारीखेतीमा संलग्न ६० जना युवालाई चालु आवमा पनि रु ४० हजारका दरले रु २४ लाख अनुदान दिइने वरिष्ठ कृषि विकास अधिकृत प्रकाशकुमार डाँगीले बताउनुभयो ।

प्रतिक्रिया