लगातारको बन्दले खाद्यान्न र पेट्रोलको भाउ बढ्यो

इनेप्लिज २०७२ भदौ ७ गते ५:०० मा प्रकाशित

petrolसप्तरी, ७ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्द आज दशौँ दिन पनि सप्तरीमा जारी छ । यहाँको जनजीवन थप कष्टकर बनेको छ ।

सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीलगायतका मधेसवादी दलले तराई मधेस बन्दको आह्वान गरेको हो ।

मोर्चाको कार्यकर्ताले कुनै पनि सवारीसाधन चल्न दिएका छैनन् भने पूर्व पश्चिम राजमार्गको ठाउँठाउँमा ढुङ्गा तेर्साएर सडक अवरुद्ध पारेका छन् ।

यस्तै बन्दबाट सप्तरीमा कलकारखाना, उद्योगधन्दा, बजार पसल, शिक्षण संस्थासमेत ठप्प रहेको छ । मोर्चाका कार्यकर्ताले सप्तरीको विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् ।

यता लामो समयदेखिको बन्दका कारण दैनिक उपभोग्य सामानमा महँगी बढ्न थालेको छ । खासगरी खाद्यान्न सामग्री र सागसब्जीलगायतको दैनिक उपभोग्य सामग्रीमा दोब्बर महँगी बढेको उपभोक्ता बताउँछन् ।

यस्तै लामो समयको बन्दले यहाँको बजारमा पेट्रोलको अभाव भई भाउ बढेको छ । प्रति लिटर रु ११५ मा पाइने पेट्रोल लगातारको बन्दले अहिले रु १५० मा किन्न बाध्य भएको उपभोक्ता परमेश्वर झाले बताउनुभयो ।

प्रतिक्रिया