हरिबहादुरलाई कर्णालीको सहिद घोषणा गर्न कर्णालीवासीको माग

इनेप्लिज २०७२ भदौ ७ गते ४:४६ मा प्रकाशित

जुम्ला, ७ भदौ । विशेष अधिकारसहितको कर्णाली स्वायत्त प्रदेशको मागको आन्दोलनमा गत साउन ३१ गते प्रहरीको गोली लागि गम्भीर घाइते भएका ताम्ती गाविस–१ सर्मी जुम्लाका २४ वर्षीय हरिबहादुर कुँवरको आइतबार बिहान शिक्षण अस्पताल काठमाडौँमा मृत्यु भएपछि अहिले कर्णालीवासीले हरिबहादुरलाई कर्णालीको पहिलो सहिद घोषणा गर्न माग गरेका छन् ।

कर्णाली अधिकार सुनिश्चितताका साझा मुद्दामा ज्यान गुमाएकोप्रति उच्च कदर गर्दै मृतक कुँवरलाई कर्णालीको पहिलो सहिद घोषणा गर्न माग गरिएको हो । जुम्लामा आइतबार बिहान बसेको सर्वदलीय बैठकबाट मृतक कुँवरलाई कर्णाली मुक्ति आन्दोलनको पहिलो नायकका रुपमा घोषणाको पहल गर्ने निर्णय गरिएको छ ।

सर्वदलीय बैठकमा कुँवरको परिवारलाई सरकारले उचित राहतको व्यवस्था गर्न, उच्च सम्मानका साथ उसको दाहसंस्कार गरिदिन पनि माग गरिएको छ । स्थानीय स्तरमा जुम्ला कुडारी–ताम्ती हुँदै जाजरकोट जिल्ला जोड्ने सडकलाई वीर हरिबहादुर कुँवर मार्ग नामाङ्करण गर्ने, चन्दननाथ नगरपालिका जुम्लाको उपयुक्त स्थानमा हरिबहादुर स्मारक निर्माण गर्ने र उहाँको वीरतालाई कालान्तरसम्म सम्मान गर्न अक्षयकोष तयार गर्ने दलहरुले निर्णय गरेका छन् ।
जुम्लावासीले गरेको आन्दोलनबाट कर्णालीले नयाँ प्रदेश नं ६ को मान्यता प्राप्त गरेको दुईदिन पछि घाइते कुँवरको मृत्यु भएको हो । उनलाई सहिद घोषणा नगरुञ्जेल र क्षतिपूतिको घोषणा नगरेसम्म शव नबुझ्ने मृतकका दाजु राजबहादुर कुँवरले बताउनुभएको छ ।

प्रतिक्रिया