गोलीको छर्रा लागेका घाइतेको शल्यक्रिया

इनेप्लिज २०७२ भदौ ६ गते ५:०७ मा प्रकाशित

भक्तपुर, ६ भदौ । गरिब, असहाय एवम् अति विपन्न बिरामीका लागि गट्ठाघरस्थित नागरिक सामुदायिक शिक्षण अस्पतालमा निःशुल्क उपचार सेवा सुरु भएको छ ।

अस्पतालमा आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसक्ने बिरामीको चाप बढेपछि तिनको उपचार गर्न सहज होस् भनेर अस्पतालका निर्देशक गोपी न्यौपानेको अध्यक्षतामा कोष सञ्चालनमा ल्याइएको छ । कोषले यस वर्ष अस्पतालमा २५ महिलाको पाठेघरको निःशुल्क शल्यक्रिया सुरु गरेको छ ।

त्यसैगरी द्वन्द्वकालमा शरीरमा गोलीको छर्रा बोकेर बसेका तर पैसा नभएर उपचार गर्न नसकेका द्वन्द्वपीडितको पनि कोषले निःशुल्क शल्यक्रिया गर्न सुरु गरेको छ । कोषले अहिलेसम्म विभिन्न स्रोतबाट रु १४ लाखसङ्कलन गरेको छ र यसमा कम्तीमा रु एक करोड राख्ने भएको छ ।

त्यसैगरी अस्पतालले भक्तपुरमै पहिलो पटक मुटु परीक्षणसम्बन्धी टिएमटी सेवा सुरु गरेको अस्पतालका नर्सिङ इन्चार्ज वरुणा पौडेलले जानकारी दिनुभयो । त्यस्तै पिसाबसम्बन्धी सम्पूर्ण रोगको उपचार एवम् अत्याधुनिक यन्त्रद्वारा शल्यक्रिया गरिने इन्डो युरोलोजी सेवा पनि सुरु भएको छ ।

सरकारको सहयोगमा रु ३२ लाखमा अस्पतालले इन्डोस्कोपी सेवा सुरु गरेको छ । अस्पतालले सिटी स्क्यान सेवाका साथै तीन भेन्टिलेटरसहित नौ श्ययाको सघन उपचार सेवा र २० श्ययाको शल्यक्रिया कक्ष सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया